जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १३:२०

आत्मदाह गरेका प्रेम आचार्यकी पत्नीले जनाइन कडा आपत्ति


काठमाडौं, १९ माघ । आत्मदाह गर्नुभएका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उहाँले बताउनुभयो ।

बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उहाँको भनाइ छ । गृहजिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिनुभएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताउनुभयो ।

‘मेरो श्रीमान्ले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उहाँले भन्नुभयो । उहाँले थप्नुभयो,‘मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।’

उहाँले आफनो गोपनियता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताउनुभयो । सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरु पोस्ट भइरहेको छ । अधिकारीले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको विषयमा जानकार भएको बताउनुभयो ।

‘हिजो सांसदहरुले उठाउनु भएको विषयमा थोरै जानकार छु । सांसद मोहन बस्नेतले काठमाडौँमा केही समयअघि रोजगारी र नानीहरुको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो’, उहाँले भन्नुभयो । सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उहाँको भनाइ छ । इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिको रुपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो । अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराउनुभएको थियो ।

सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उहाँको भनाइ छ । श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने वित्तिकै काठमाडौँ आउने बताउनुभयो । उहाँले भन्नुभयो,‘उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु । उहाँलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु ।’