जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १८:०२

भौतिक पूर्वाधार र यातायात सुधारका लागि कार्यदल गठन


काठमाडौं, १९ माघ । सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा रहेका तमाम समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यदल गठन गर्नुभएको हो । कार्यदलको संयोजकमा प्रा. डा. राजेन्द्रप्रसाद अधिकारी हुनुहुन्छ । कार्यदल छ सदस्यीय छ ।

कार्यदलमा पूर्वसचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषयविज्ञका रूपमा डा. लीना गुरुङ सदस्य हुनुहुन्छ । कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर इञ्जीनियर अर्जुनप्रसाद अर्याल सदस्यसचिव हुनुहुन्छ । कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारीभित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इञ्जीनियरिङ सेवा व्यवस्थापन (इञ्जीनियरिङ काउन्सिल) समेतको कार्यविधिमा रही सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ ।

कार्यदलको अवधि एक महिनाको छ । सेवा प्रवाहलाई चुस्तदुरुस्त, सेवाग्राहीमैत्री, प्रभावकारी, सुशासनमैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका विषय प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।