जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १७:४४

यसरी बिफल भयो पार्टी स्कूल बिभागमा जवजवादी नेता इश्वर पोखरेललाई रोक्ने योजना


काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्रको आन्तरिक विवाद मिलाउँदै निकै रस्साकस्सी परेको पार्टी स्कुल विभागको उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिएको छ । आज बसेको सचिवालय बैठकले केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाउँदै पोखरेललाई पार्टी स्कूल बिभागको नेतृत्व दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्कूल बिभाग प्रमुखमा पोखरेलको नाम प्रस्ताव गरेपछि उहाँलाई रोक्न नेकपाभित्र ठुलै चलखेल भएको थियो । बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि स्थायी समितिका अन्य नेताहरुले समेत सो बिभाग चाहिने अडान लिएपछि नेकपाभित्र लफडा मच्चिएको थियो । तर आजको सचिवालय बैठकले सर्वसम्मत रुपमा पोखरेललाई बैचारिक बिभागको नेतृत्व सुम्पिएको हो ।

पार्टी स्कुल विभागकै दाबेदार प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार विभागको प्रमुख बनाउने निर्णय पनि बैठकले गरेको छ । तत्कालीन एमालेले लिएको जनताको बुहदलीय जनवादको दिशामा पार्टीलाई लैजानुपर्ने वकालत गर्दै आउनु भएका पोखरेललाई पार्टीको मुख्य सैद्धान्तिक प्रशिक्षण गर्ने निकायमा लैजान नहुने भन्दै पूर्वमाओवादी पक्षले जोडबल गरेको थियो । माओवादी पक्षले जनताको जनवाद भन्ने पार्टीको पछिल्लो सहमतिलाई सैद्धान्तिक आधार बनाएर लैजानका लागि आफ्नो पक्षका नेता श्रेष्ठलाई दिनुपर्ने अडान राख्दै आएको थियो । तर अन्तिममा पोखरेलकै नाममा सहमति जुटेको छ ।

यो विवादका कारण पाटी भित्रको आन्तरिक एकता झन् टाढिने अवस्था आएसँगै शुक्रबारको बैठकमा यो विषयलाई धेरै लम्बाउन नहुने भन्दै नेताहरुले सहमति गरेका हुन । प्रधानमन्त्री ओलीलेचट्टानी अडान लिने अवस्था बनेपछि पोखरेल रोक्न लागेका नेताहरु सहमत भएका हुन ।अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच स्कूल बिभाग पूर्वएमालेले लिने सहमति भएपछि सचिवालयमा रहेका पूर्वएमाले तर्फको नेताहरुको बैठकमा अध्यक्ष ओलीले स्कूल बिभागमा पोखरेलको नाम प्रस्ताव गर्नुभएको थियो ।

सोही बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमले पाउनु भएको बिभागको नेतृत्वमा सहमति भएको थियो । तर एकाएक स्कूल बिभागको सहमति नै भएको छैन भन्दै पूर्वएमालेकै केही नेता लागेपछि बिवाद बढेको थियो । यता प्रवक्ता श्रेष्ठले कुनै हालतमा पोखरेल स्वीकार गर्न नसकिने अडान लिएपछि प्रधानमन्त्री ओलीले पोखरेल देखाएर आफूबिरुद्धको सुनियोजित योजना बन्न थालेको भन्दै सवै नेतासँग परामर्श गर्नुभएको थियो । ओलीले पोखरेलको नाममा आफू पुनर्बिचार गर्न नसक्ने बटमलाइन सुनाएपछि सवै नेताहरु थप बिवाद नगरौं भन्ने निश्कर्षमा पुगेर सहमति जुटेको हो ।

यस्तै प्रभावशाली मानिएको विदेश विभागको प्रमुख वरिष्ठ नेता माधव नेपाल, नीति तथा अनुसन्धान विभागको अर्का वरिष्ठ नेता झलनाथ खनाल, संगठन बिभागमा बामदेव गौतम, अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डेलाई नेतृत्व दिइएको छ ।