जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार २०:०१

नेकपामा चर्कियो वरियताको लफडा


काठमाडौं, साउन ३१

लामो समय बस्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्दा नयाँ नयाँ विषयले प्रवेश पाएका छन् । शुक्रबारको बैठक बसेपछि नेकपाभित्रको समिकरण फेरिएको अन्य नेताले चाल पाएका थिए ।

बामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाउने सबैले अनुमान गरिसकेका थिए । तर, बैठकमा उनै गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्षको प्रस्ताव सबैलाई आश्चर्यचकित बनाउने निर्णय थियो । सो प्रस्तावलाई बैठकमा कुनै पनि नेताले विरोध भने गर्न सकेनन् । बरु बामदेव गौतमको सबैले प्रशंसा गरेको एक सचिवालय सदस्यले जानकारी दिएका छन् । बैठकमा पार्टी एकता हुँदाको बखत भएको एक निर्णयको विषय पनि उठेको छ ।

बैठकको शुरुवातमै तत्कालिन एमालेको अध्यक्ष भईसक्नु भएका झलनाथ खनालले पार्टीमा आफ्नो वरियता अध्यक्षद्वयपछि हुनुपर्ने माग राख्नु भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको ९ सदस्यीय सचिवालयमा नेताहरुको वरियता तोक्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि माधवकुमार नेपाललाई राखिएको थियो । खनाललाई तेस्रो वरियतामा राखिएको थियो । सो निर्णयको त्यत्तिबेला नै नेता खनालले विरोध जनाउनु भएको थियो ।

यसविचमा पनि उहाले यो विषय उठाउदै आउनु भएको थियो । तर, शुक्रबारको बैठकमा उहाले वरियताको विषय जोडतोडका साथ उठाउनु भएको छ । ‘पार्टीमा माधव कमरेड भन्दा म सिनियर हु’, खनालको भनाई उद्धत गर्दै एक नेताले जनता टाइम्ससँग भने,‘पार्टी एकता गरिदाँ मलाई अन्यायमा पारिएको छ, यो सच्याउनुपर्छ ।’ नेता खनालको प्रस्तावमा अन्य केही नेताले पनि समर्थन गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा वरियताको विषय उठेपछि अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ले आजको बैठकमा नभई अर्को बैठकमा यस विषयमा छलफल गर्ने बताउनु भएको थियो । शनिवार बस्ने बैठकमा यो विषय छलफल हुने र नयाँ वरियता कायम हुन सक्ने स्रोतले दावी गरेको छ । शुक्रबारको बैठकमा खनालले वरियताको प्रश्न उठाएपछि वरिष्ठ नेता नेपालले पनि त्यसको प्रतिवाद गर्नुभएको छ । ‘वरिष्ठता खोज्ने हो भने कम्युनिस्ट आन्दोलनमा को पहिले लाग्यो भन्नेबाटै खोजिनुपर्छ’, नेपालको भनाई उद्धत गर्दै एक नेताले भने । नेता नेपालले आफु खनालभन्दा वरिष्ठ रहेको स्पष्ट शब्दमा भन्नु भएको थियो ।