जनता टाइम्स

२१ माघ २०७९, शनिबार २०:१०

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की


झापा, माघ २१। प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा विर्तामोडमा आज एक समारोहबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।

सम्मानित अग्रज पत्रकारहरुमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल हुनुहुन्छ । पाठक प्रेस चौतारी झापाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । काजी, क्षेत्री, विद्रोही र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पर्याउनु भएका झापाका अग्रज पत्रकार हुनुहुन्छ । पकुवाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको हो ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव प्रकाश पौडेल, चौतारीको इतिहासबारे नेकपा एमाले प्रदेश १ कमिटिका प्रेस चौतारीका इन्चार्ज गणेश पोखरेल र सम्मानित व्यक्तित्वहरुको परिचय प्रेस चौतारी झापाका इञ्चार्ज सन्तोष आचार्यले गराउनु भएको थियो ।

सो अवसरमा मुख्यमन्त्री कार्की, सम्मानित व्यक्तित्व गोविन्दचन्द क्षेत्री, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले मन्तब्य शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले प्रचार विभागका सदस्य गोपाल काफ्लेले सम्मान पत्र पढेर सुनाउनु भएको थियो भने चौतारीका झापा उपाध्यक्ष प्रदिप परियारले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, जिसस प्रमुख विश्व बराल, प्रजिअ शिवराम पोखरेल, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की लगायतको आतिथ्यता रहेको थियो ।

सम्मानित अग्रज पत्रकारहरुको तर्फबाट मन्तव्य राख्दै गोविन्दचन्द्र क्षेत्रीले प्रेस चौतारीको कार्यक्रम सह्रानीय भएको बताउनु भयो । उहाँले चौतारीले सबै आस्थाका पत्रकारहरुलाई निम्तो गरेर स्थापना दिवस मनाएको प्रशंसा पनि गर्नुभयो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनु भयो । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सहमतिबाट नामाकरण गर्ने आफ्नो योजना रहेको तर संभव नभए बहुमतबाट गरिने उहाँको भनाई छ । ‘अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौं सहमति जुटेन भने बहुमतबाट भए पनि नामाकरण चाहिँ गर्नेछौं,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो ।

प्रदेश नं. १ बाहेक छ वटै प्रदेशको नामाकरण भइसकेको छ । राजनीतिक दलहरुबीच सहमति बन्न नसक्दा प्रदेश नं. १ को नामाकरण बाँकी रहेको हो । यसअघि प्रदेश नं. १ को नामाकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको बताउँदै नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहनुभएका मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘हाम्रा कारणले नामाकरण रोकिएको होइन ।’

उहाँले प्रदेश नं. १ मा पुरानो सञ्चार प्रतिष्ठान व्युँताउने जानकारी पनि दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो । त्यसबेला आफुले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसंग जोड्दै उहाँले अब कानून नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताउनु भयो ।

पत्रकार उपचार कोष सञ्चालन र पेशागत सुरक्षाका लागि प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल र पत्रकारहरुको संघ संगठनहरुसँग परामर्श गर्ने प्रतिबद्धता पनि उहाँले गर्नुभएको छ ।