जनता टाइम्स

२३ माघ २०७९, सोमबार ०७:५०

प्रेस चौतारी स्थापना दिवसमा संस्थापक अध्यक्ष एबं पुर्वअध्यक्ष सम्मानित


खोटाङ, २३ माघ । प्रेस चौतारी नेपाल खोटाङका संस्थापक अध्यक्ष एबं पुर्वअध्यक्षहरु सम्मानित हुनुभएको छ ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा आइतबार संस्थापक जिल्ला अध्यक्ष रमेशकुमार पौडेल र पुर्वअध्यक्ष हरिबोल आचार्यलाई सम्मान गरिएको हो । जिल्लामा २०५८ सालमा प्रेस चौतारीको शाखा स्थापनामा योगदान पुर्‍याएकामा पौडेल र जिल्लाको पत्रकारिताको विकासमा योगदान पुर्‍याएकामा आचार्यलाई सम्मान गरिएको हो । पौडेललाई एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल र आचार्यलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्नुभएको छ ।

पत्रकारिताबाट राजनीतिमा लागेका पौडेल हाल एमाले केन्द्रीय सदस्य एबं खेलकुद महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ । प्रेस चौतारीका केन्द्रीय सदस्य एबं प्रदेश सह–इन्चार्ज रहेका आचार्यले हलेसी साप्ताहिक र हलेसीखबर डटकम सञ्चालन गरिरहनु भएको छ । कार्यक्रममा अनुपस्थित अन्य पुर्वअध्यक्षलाई क्रमशः सम्मान गरिने प्रेस चौतारीका जिल्ला अध्यक्ष सिताराम राई (सञ्जिव)ले बताउनुभयो ।

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीलाई फलफुल वितरण गरिएको छ । चौतारीको स्थापना दिवको अवसरमा आइतबार बिहान जिल्ला अस्पतालमा उपचाररत आठ बिरामीलाई फलफुल वितरण गरिएको हो ।

बिरामीलाई फलफुल वितरण, शुभकामना आदान–प्रदान एबं सम्मान कार्यक्रममा प्रेस चौतारीका संस्थापक जिल्ला अध्यक्ष एबं एमाले केन्द्रीय सदस्य पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेश तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर राई, एमालेका जिल्ला अध्यक्ष दंगाल, एमाले जिल्ला सचिव कुमार आचार्य, कांग्रेसका जिल्ला कोषाध्यक्ष नवराज राई, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य टंक थापा, सहायक प्रमुख जिल्ला अधकिारी पवित्रप्रकाश शाह लगायतको उपस्थिति रहेको थियो ।