सुर्खेत, माघ २३ । कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रेस चौतारी नेपालको स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । जिल्ला शाखाले विभिन्न रचनात्मक कार्यक्रम गरी संगठनको २५ औं स्थापना दिवस मनाएका हुन ।
स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल सुर्खेतले प्रभातफेरी तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलगढी चोकबाट सुरु भएको प्रभातफेरी पिपलचौतारामा पुगेर समापन भएको थियो । त्यहाँ १५ जना पत्रकारहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा चौतारीका साथै नेपाल पत्रकार महासंघ, विभिन्न पेशागत संगठनका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।
यस्तै दैलेख शाखाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेर स्थापना दिवस मनायो । चौतारीका केन्द्रीय सचिव विष्णुप्रसाद शर्मा, पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजाल लगायतको उपस्थितिमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
कालीकोट शाखाले पनि अस्पतालका बिरामीलाई फलफूल वितरणका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हुम्ला शाखाले सदरमुकाम सिमकोटमा अपांगता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी स्थापना दिवस मनाएको छ । हेड नेपाल र माया सदनमा आश्रित अपांगता भएका ११ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
यस्तै जुम्ला शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती वार्डमा रहेका महिलालाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको छ । जुम्लास्थित पत्रकारहरुका विभिन्न पेशागत संगठनका प्रमुख एवं प्रतिनिधिहरुले प्रतिष्ठानमा पुगेर फलफूल वितरण गरेका थिए । मुगुमा पनि जिल्ला अस्पतालका बिरामीलाई जुस वितरण गरेर चौतारीले स्थापना दिवस मनायो ।
पे्रस चौतारी नेपालको जाजरकोट शाखाले अनाथ आश्रमका बालबालिकालाई विभिन्न स्टेशनरी सामान हस्तान्तरण गरेको छ । जाजरकोट खलंगास्थित नेपाल आमा अनाथ आश्रमका बालबालिकालाई कापी कलम लगायतका सामान वितरण गरिएको थियो । सल्यानले दुवै मिर्गौलापीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गर्यो ।
सल्यान बागचौर नगरपालिका ११ निवासी भगवती पुनको उपचारका लागि चौतारीले ५ हजार रुपैया सहयोग प्रदान गरेको हो । आर्थिक अवस्था कमजोर रहेको पुनमा उपचारमा मद्दत पुराउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो । पुनको सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ । रुकुम पश्चिममा पनि पे्रस चौतारीले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको छ ।
प्रतिक्रिया दिनुहोस्