जनता टाइम्स

२५ माघ २०७९, बुधबार १४:०८

प्रेस स्वतन्त्रताको पक्षमा हामी सतिसाल झैँ उभिन्छौँ : नैनसिंह महर


काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा पार्टी सतिसाल झैँ उभिने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतान्त्रिक अधिकार र स्वतन्त्र पेसको सवालमा नाफाघाटा नहेरेर अधिकार संरक्षणका लागि कांग्रेस सतिसाल झैँ उभिने बताउनुभयो ।

लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहने उहाँको धारणा थियो । ‘जननिर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाका प्राणवायु नै हुन्। यी चार अंगको सन्तुलन र प्रभावकारिताले मात्र राष्ट्रले फड्को मार्न सक्छ,’ उहाँले भन्नुभयो । अझ स्वतन्त्र प्रेसविना त झन् लोकतान्त्रिक व्यवस्थाले ठिकसँग कामनै गर्न नसक्ने उनको धारणा थियो ।

लोकतान्त्रिक व्यवस्थाबीना नेपाली कांग्रेसको राजनीतिक अभीष्ट पुरा हुननसक्ने बताउँदै केन्द्रीय सदस्य महरले पत्रकारिताको विरुद्धमा कसैलाई पनि धावा नबोल्न चुनौती दिनुभयो । ‘नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति र निश्चपक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहन्छ । कसैको अधिकार हनन् हुँदा कांग्रेस अधिकार संरक्षणका पक्षमा उभिन्छ ।

लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा हामी नाफाघाटा हेर्दैनौं। फेरी भन्छौं, अधिकार संरक्षणका पक्षमा सतिसाल झैँ उभिन्छौँ,’ उहाँले थप्नुभयो । उहाँले नेपालमा लोकतन्त्र प्राप्तिको लागि प्रेस जगतको ठूलो योगदान रहेको स्मरण गर्नुभयो । ‘निर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस नभए लोकतन्त्र फस्टाउन सक्दैन। लोकतन्त्र नफस्टाएसम्म विकास सम्भव छैन।

त्यसैले लोकतन्त्र बचाउन राज्यका यी अंक स्वतन्त्र हुनुपर्ने पर्छ। यिनीहरूमाथि प्रहार गर्ने अधिकार कसैलाई छैन,’ उहाँले भन्नुभयो । प्रेसका बारेमा पछिल्लो पटक आइरहेका धारणाप्रति लक्षित गर्दै उहाँले कसैको नाम नलिएरै पछिल्लो समय प्रेममाथि भइरहेको आक्रमणले आफूहरूलाई दुःखी तुल्याएको बताउनुभयो ।