जनता टाइम्स

२५ माघ २०७९, बुधबार १६:४०

सरकारले टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने


काठमाडौं, २५ माघ । टर्कीमा गएको विनासकारी भूकम्पमा राहत र पुर्नस्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताउनुभयो । ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो, हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो ।

टर्का सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ ।’ आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय पछि तयारी सुरु गरेको छ ।