जनता टाइम्स

२६ माघ २०७९, बिहीबार १३:५६

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस, प्रदेशसभा बैठक फेरि सारियो


काठमाडौं, माघ २६ । सुदूरपश्चिम प्रदेशसभाबाट मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत लिन सकस भएको छ । सुदूरपश्चिम प्रदेशमा निर्णायक मानिएको रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने/नदिनेबारे टुंगो लगाउन नसक्दा मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो ।

नागरिक उन्मुक्तिको अडानकै कारण आज दिउँसो १ बजेका लागि डाकिएको प्रदेशसभा बैठक अपरान्ह ४ बजेका लागि सरेको छ । संवैधानिक व्यवस्थाअनुसार शपथ लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सो ब्यवस्थाअनुसार मुख्यमन्त्री रावलले आज विश्वासको मत लिन लाग्नुभएको हो ।

सोही विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टीका सांसद तथा शीर्ष नेताहरू संरक्षक रेशमलाल चौधरी भेट्न काठमाडौं गएका छन । विश्वासको मतकै लागि प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजेका लागि तोकिएको थियो । तर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद धनगढी नआएपछि बैठक बिहीबारलाई सारिएको थियो ।

रावलले पुस २७ गते मुख्यमन्त्री पदको शपथ लिनुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार शपथ लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, गठबन्धन दल नाउपा बिहीबारसम्म पनि अनिर्णीत छ । उक्त पार्टीका सातै सांसद यसबारे निर्णय लिन मंगलबार जेलमा रहेका संरक्षक रेशमलाल चौधरीसँग भेट गर्न काठमाडौं गएका थिए । पार्टीभित्रै शक्ति बाँडफाँटबारे कुरा नमिलेकाले निर्णय गर्न ढिलाइ भइरहेको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले आफ्नो बटमलाइन रेशम चौधरीको रिहाइ भएको बताउनु भएको छ । ‘रेशम चौधरीको रिहाइको बाटो नखुल्दासम्म हामी सरकारमा सहभागी हुने पक्षमा छैनौं’, अध्यक्ष चौधरीले भन्नुभयो । गठबन्धन दल भने उक्त पार्टीले अन्तिम समयमा आएर विश्वासको मत दिनेमा ढुक्क देखिएका छन । सत्ता गठबन्धनबीच आजै उच्चस्तरीय संयन्त्रमा सुदुरपश्चिम प्रदेश सकरारलाई बिश्वासको मत दिने बिषयमा छलफल हुँदैछ ।

रावलले पुस २७ गते एमालेका १०,माओवादीका ११, नाउपाका ७ र राप्रपाका १ गरी २९ प्रदेशसभा सदस्यको हस्ताक्षरपछि मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा २७ मत आवश्यक पर्छ । तर, गठबन्धन दल नाउपा अनिर्णीत हुँदा बहुमत पुग्नेमा सकस परेको हो ।