जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार १५:२२

नेकपाका केन्द्रीय बिभाग प्रमुख–उपप्रमुख जनसंगठनको इञ्चार्ज–सहइञ्चार्ज हुन नपाउने


काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय बिभागबाट जनसंगठनहरुलाई अलग गरेको छ । केन्द्रीय नेताको ब्यवस्थापन र जनसंगठनको कामलाई प्रभावकारी बनाउन नेकपाले यस्तो ब्यवस्था गरेको हो । शुक्रवार बसेको सचिवालय बैठकले नै केन्द्रीय बिभागका प्रमुख र उपप्रमुखलाई जनसंगठनको इञ्चार्ज र सहइञ्चार्ज हुन नपाउने ब्यवस्था गरेको हो ।

सो निर्णयअनुसार अव जनसंगठनको छुट्टै इञ्चार्ज तोकिने छ । काममा प्रभावकारिता ल्याउन र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी पुर्याउन नेकपाले यस्तो निर्णय लिएको हो । ‘केन्द्रीय बिभागका प्रमुख र उपप्रमुहरु सम्बन्धित जनसंगठनको इञ्चार्ज र सहइञ्चार्ज हुने अभ्याशले कामको बोझ धेरै भयो, अव जनसंगठनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जनसंगठनका लागि छुट्टै इञ्चार्ज–सहइञ्चार्ज तोकिन्छ,’ निर्णयबारे जानकारी दिँदै सचिवालयका एक नेताले भने । ती नेताका अनुसार भोलि बस्ने सचिवालय बैठकले जनसंगठनको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने छ । नेकपामा २२ ओटा जनसंगठन रहेका छन ।

पार्टीबिरुद्ध अभियान रोक्न अत्यन्तै प्रभावकारी जनसंगठनलाई बिशेष महत्व दिएर नेकपाले छुट्टै इञ्चार्ज र सहइञ्चार्ज तोक्न लागेको हो । यसैबीच नेकपाले पाँच ओटा केन्द्रीय बिभागमा उपप्रमुख थपेको छ । बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठान, बिदेश बिभाग, पार्टी स्कूल बिभाग, प्रचार बिभाग र संगठन बिभागमा उपप्रमुख थप्ने निर्णय नेकपाले गरेको हो । स्रोतका अनुसार संगठनमा कानूनमन्त्री भानुभक्त ढकाल, पार्टी स्कूल बिभागमा बेदुराम भुसाल, प्रचार बिभाग उपप्रमुखमा ओम शर्माको नाम टुंगो लागेको छ ।

हिजो बसेको सचिवालय बैठकले निकै जटिल बनेको केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाएको थियो । शीर्ष नेताको किार्यबिभाजनसँगै अव जनसंगठनको इञ्चार्ज सहइञ्चार्ज तोकेर नेकपाले कामलाई तीब्रता दिने योजना बनाएको छ । सोही योजनाअनुसार अवको बैठकबाट जनवर्गीय संगठनको इन्चार्ज तोकिने छ । यस्तै प्रदेश कमिटी स्तरीय बिशेष कमिटी गठनको एजेण्डा पनि रहेको छ । अहिलेसम्म जिम्मेवारी नपाएका केन्द्रीय सदस्यहरुलाई जनसंगठनको इञ्चार्ज र सहइञ्चार्ज बनाउने गरी प्रस्ताव तयार भएको छ ।

हिजोको बैठकले नेताहरुको रुचीअनुसार नै जिम्मेवारी दिएकोले अव भोलि बस्ने बैठकले रुची र बिगतमा काम गरेको संगठनकै आधारमा इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने सचिवालयका एक नेताले जानकारी दिए ।