जनता टाइम्स

२७ माघ २०७९, शुक्रबार ०८:३३

टर्की भूकम्प : भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, अझै हजारौं भग्नावशेषमा


एजेन्सी, २७ माघ । टर्की र सिरियामा सोमबारको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जानकारी अनुसार हालसम्म २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । टर्कीमा करिब १७ हजारभन्दा बढी मानिस मारिएका छन् । योसँगै सिरियामा ३ हजारभन्दा बढीको मृत्यु भएको छ । यस प्रकोपमा ७० हजार ३४७ जना घाइते भएका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसस सिरिया प्रस्थान गरेका छन् । टेड्रोस अधानोम गेब्रेयससले ट्वीट गरे, ‘म सिरिया जाँदैछु, जहाँ डब्लुएचओ द्वारा आवश्यक स्वास्थ्य सुविधाहरू उपलब्ध गराइँदैछ।’

७२ घण्टापछि भग्नावशेषबाट एक महिलालाई जिउँदै निकालियो
अन्टाक्याको पूर्व, दियारबाकिरमा, उद्धारकर्ताहरूले बिहान भत्किएको भवनबाट करिब ७२ घण्टापछि एक घाइते महिलालाई जिउँदै निकालेका छन् । तर महिलासँगै निकालिएका तीन जना भने मृत फेला परेका थिए । अन्टाक्यामा नै, एक महिला, सर्प अर्स्लान, आमा र भाइ गाडिएको भवनको भग्नावशेषलाई ओसिलो आँखाले हेर्दै थिइन् ।

अहिले यहाँ रहेको ठूलो परिमाणमा भग्नावशेष हटाउने काम सुरु भएको छ । यसैबीच, संयुक्त राष्ट्र संघको सहायता ट्रक विद्रोही नियन्त्रित उत्तरपश्चिमी सिरियामा बिहीबार बिहान आइपुग्यो ।

जनताले करको हिसाब मागिरहेका छन्
राष्ट्रपति तैयप एर्दोगानले सरकारको ढिलो उद्धार र राहत कार्यको लागि आलोचनाको सामना गर्नु परेको छ। आक्रोशित जनताले सरकारलाई सोधिरहेका छन्, साढे दुई दशकदेखि भूकम्पको नाममा उठाइएको कर कहाँ छ ? हिसाब देउ । यो विनाशको घडीमा किन सदुपयोग हुन सकेको छैन ? भूकम्प र अन्य प्राकृतिक प्रकोपको सामना गर्ने नाममा टर्कीमा सरकारले ‘विशेष सञ्चार कर’ उठाउँछ ।