जनता टाइम्स

२७ माघ २०७९, शुक्रबार १९:०५

मुलुक समस्याको भुमरिमा छ, ताली र सस्तो कुरामा नअलमलीऔं : कमल थापा


काठमाडौं, २७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज पार्टीको भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले भन्नुभयो,‘मुकुकमा भ्रष्टाचार, आर्थिक संकट, बिदेशी प्रभाव, बेरोजगारी, कुशासन, धर्म परिबर्तनसङ्गै राष्ट्रियता माथी पनि गम्भीर प्रश्न चिन्ह खडा भैरहेको छ, तर ठूला भनिने नेताहरु सस्तो लोकप्रियताको गित गाउन मात्रै मस्त छन्, देशमा समस्या समाधानमा चिन्तित छैन,जुन बिडम्बना हो ।’

अहिले राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्नेमा उहाँको जोड थियो । अहिले वाद, सिद्धान्तको बिबाद गर्ने बेला नभएको राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्त्वपूर्ण बिषय भएको थापाको टिप्पणी थियो ।

राप्रपा नेपाललाई फेरि उठाउने सन्दर्भमा सबै जनबर्गिय संगठनले छ महिने योजना र कार्यक्रम ल्याउन समेत उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र प्रबक्ता बसन्तमानसिंह अधिकारीले अब पार्टी जनता केन्द्रित हुनुपर्ने आबश्यकता औल्याउनुभयो । जनबर्गिय संगठनका प्रमुखहरुले संगठनको अबस्था र भाबी कार्यक्रम बारे बैठकलाई जानकारी गराउनुभएको थियो ।