जनता टाइम्स

२ फाल्गुन २०७९, मंगलवार १७:०६

कांग्रेस नेतृत्वको गठबन्धन तोड्नु एमालेको सफलता हो : अध्यक्ष ओली


काठमाडौं, २ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु सफलता भएको बताउनुभएको छ । काठमाडौंमा आज अनेरास्ववियुको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाउनु एमालेको सफलता भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोड्नुमा एमालेको सफलता भएको बताउनुभएको हो ।

पाँच दलीय गठबन्धन तोडेर प्रचण्डको नेतृत्वमा सरकार बनाउनुभएको उहाँले सरकार सञ्चालनका लागि आफू नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र पनि बनाउनुभएको छ । तर, अहिलेको राजनीतिक समीकरण परिवर्तन पनि हुन सक्ने भन्दै उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई सजग पनि बनाउनुभएको हो ।

संसदको बनावट अस्थिर राजनीतिकको कारक बन्ने खालको रहेको भन्दै ओलीले भन्नुभयो, ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो । कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन ।’