लमजुङ २ फागुन । लमजुङको पर्यटकिय गाउँ पसगाउँमा स्थानिय युवाहरुको सक्रियतामा रेलिङ निर्माण भएको छ । स्थानिय युवा युवतीहरुले रोधीबाट जम्मा भएको रकमलाई गाउँकै विकास निर्माणमा खर्च गर्नुभएको हो । स्थानिय युवा युवतीहरूको समूह रोशेस गाईज र सोही स्थानमा रहेको लालीगुराँश रोधी परिवारको सक्रियतामा करिव चारलाख रुपैयाको लागतमा गाउँको जोखिमस्थानमा रेलिङ निर्माण गर्नुभएको हो ।
स्थानीय युवायुवतीहरूले रोधीबाट संकलित भएको रकमलाई अनावश्यक खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा खर्च गर्दा राम्रो सन्देश जाने भन्दै गाउँकै जोखिम स्थानमा फलामको रेलिङ निर्माण गरेको बताएका छन् । स्थानीय अग्रजहरूको परामर्शमा गाउँकै सवैभन्दा जोखिम स्थानमा सुरक्षित यात्राको निम्ती रेलिङ निर्माण गरीएको रोशेस गाईज तथा लालीगुराँश रोधी परिवारका अध्यक्ष चन्द्रप्रसाद गुरुङले बताउनुभयो ।
भौगोलिक विकटता सँगै पसगाउँका अधिकाँश युवायुवती पढाई र रोजगारीका शिलशिलामा गाउँ बाहिर बस्दै आएका छन् । देश तथा विदेशमा रहेका युवा युवतीहरू चाडपर्वका सन्दर्भमा गाउँमा आउने र सोहि बेला गाउँमा सांस्कृतिक कार्यक्रम एवं परम्परागत रोधी हुने गर्छ । रोधीबाट संकलित रकमलाई अनावश्यक खर्च नगरी गाउँकै विकासमा खर्च गर्दा गाउँप्रतिको माया बढ्नेहुँदा सोही अनुसारको काम गरीएको लालीगुराँश रोधी परिवारकी सचिव ननिता गुरुङले बताउनुभयो ।
यसअघि रेलिङ नहुँदा सो ठाउँमा कयौँ स्थानीय र पर्यटकहरू समेत दुर्घटनामा परेको स्थानीय बताउँछन् । पर्यटकीय पसगाउँको मध्य भागमा निर्माण भएको रेलिङले यात्रा सुरक्षित बनाउनका साथै पर्यटकीय आकर्षण पनि थपेको छ । गाउँको बीचमा रंङरोगनसहित निर्माण भएको रेलिङ र आकर्षक धारामा सेल्फी लिने तथा पसगाउँलाई पृष्ठभुमी बनाएर तस्बिर लिन निकै आकर्षक देखिएको स्थानीयको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्