जनता टाइम्स

३ फाल्गुन २०७९, बुधबार १६:४०

फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ : नैनसिंह महर


काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महरले फौजदारी अभियोगमा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन हुने तर सांसदले आफ्नो पद जोगाउन निलम्बन हुन नपर्नेगरी नियमावली बनाउने प्रक्रिया अगाडी बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको बताउनुभयो ।

‘माननीय सांसदहरूले कानुन सबैका लागि बराबर हो भन्ने आभास दिलाउनु पर्छ,’ नेता महरले भन्नुभयो,‘लोकतान्त्रिक व्यवस्थामा कानुनी राजको महत्त्वपूर्ण अर्थ रहन्छ ।’ जनता र सांसद जसलाई पनि कानुनले बराबर ठान्ने उहाँनको भनाइ छ । आज दुई खाले व्यवहार गर्न खोजिँदै गरिएको उहाँको धारणा छ ।

एक अर्को प्रशंगमा बोल्दै नेता महरले नेकपा एमालेका जिम्मेवार नेताहरुको नेतृत्वमा लोकतान्त्रिक पद्धतिको धज्जी उडाउनेगरी पूर्वराजाको संरक्षकत्वमा प्रतिगमनकारी अभियानको थालनी भएको टिप्पणी गरेका छन् ।

वर्तमान संविधान र परिवर्तन विरोधीहरु संसद, सरकार र सडकबाट जुर्मुराउन थालेका र यसको जवाफ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुपर्ने र लोकतन्त्रका खिलाफमा हुने जुनसुकै गतिविधी पनि कांग्रेसलाई सह्य नहुने महरको भनाई थियो ।