महोत्तरी, ३ फागुन । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले सन्जित मण्डलले निकालेको विज्ञप्तिलाई लिएर आपत्ती जनाएको छ । महासंघको लेटरहेड दुरुपयोग गर्दै कार्यसमितिको निर्णयकोविरुद्ध निकालेको प्रेस विज्ञप्ति भ्रमपुर्ण र गैरकानुनी भएको महासंघले ठहर गरेको हो । कार्यसमितिले २ दिन अगाडि बैठक बसेर नयाँ सदस्यता र नविकरणको लागि अपिल गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार २ फाल्गुनदेखि ९ फाल्गुनसम्म नयाँ सदस्यता र नवीकरणको लागि आवेदन दिन समयसीमा निर्धारण गरिसकेको छ । यही विचमा कार्यसमितिको सहसचिवसमेत रहनुभएको मण्डलले अध्यक्ष, उपाध्यक्ष, सचिवको अनुमती बीना नयाँ सदस्यता स्थगित भएको आजै विज्ञप्ति निकाल्नुभएको छ ।
महासंघको आधिकारिक व्यक्तिको अनुमतीबिना लेटरहेड र छापको दुरुपयोग गर्दै सदस्यता दिने प्रक्रिया स्थगित भएको विज्ञप्ति महासंघसगँ सम्बन्धित नभएको बताउँदै सचिव राजकरण महतोले पूर्णतः गैरकानुनी भएको बताउनुभयो । ‘हामी भोलि नै बैठक बसेर यस विषयमा कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल गर्नेछौं,’ उहाँले भन्नुभयो,‘पूर्वअध्यक्ष कमलेश मण्डल स्थानिय निर्वाचनमा उमेदवारी बनेपछि उहाँ विधाननुसार अध्यक्ष पदमा रहनुभएन । सोहीबेलादेखि नै महासंघलाई कसरी असफल बनाउने भन्ने विषयमा मण्डल पक्ष लाग्नुभएको छ ।’
कमलेश मण्डल अध्यक्षबाट बर्खास्त बनेपछि वरिष्ठ उपाध्यक्ष सुनिता महतोले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो । विधाननुसार नै मण्डल बर्खास्त भएता पनि मण्डल पक्षका सन्जित मण्डलसहितका ब्यक्तिहरूले उहाँलाई पुनःस्थापनाको माग गर्दै आएका थिए । पटक–पटक कार्यसमितिको बैठक बोलाउँदा पनि मण्डल पक्ष सहभागि नभएपछि बहुमतले सदस्यता र नवीकरण खुलाउने निर्णय गरेको उपाध्यक्ष सुनिता महतोले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्