जनता टाइम्स

५ फाल्गुन २०७९, शुक्रबार १३:५२

हरेक नेपालीलाई उद्यमशीलतासहितको रोजगारको ग्यारेन्टी गरौँ : नैनसिंह महर


काठमाडौं, ५ फागुन । राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताउनुभएको छ । उहाँले मुलुकको विकासका लागि नागरिकलाई उद्यमशील बनाउनु नै राज्यको पहिलो दायित्व हुने धारणा राख्नुभयो । स्पेसिफिक विषय लिएर समाजमा विकासका मोडेलहरू स्थापित हुँदै जानेक्रम चलिरहेको बताउँदै उहाँले त्यसमा नेपाल पनि सफल हुनुपर्ने बताउनुभयो ।

‘स्थानीय स्तरबाट विश्वव्यापी गर्ने, विश्वव्यापी स्तरबाट लोकलमा ल्याउने विचार प्रतिपादित छन् । र, दुवै विचार सफल प्रमाणित गर्न खोजिरहेका छन् । यस्तो अवस्थामा पछाडि पारिएको वर्गलाई उद्यमशीलताको मूल प्रवाहमा ल्याउनुपर्छ’ उहाँले भन्नुभयो । उहाँले जनताको अधिकारको सुनिश्चितताका लागि मुलुकको अर्थतन्त्र बलियो हुनुपर्ने र त्यो उद्यमशीलताबाटमात्रै सम्भव भएको धारणा बताउनुभयो । उद्यमशीलताका लागि सरकारले कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सरकार प्रस्ट नभएको उहाँको गुनासो छ ।

संसदमा पनि यो विषयले प्रवेश पाउनुपर्ने महरको ठहर छ । ‘मैले त राजनीति गर्दा निःशुल्क स्वास्थ्य र शिक्षासँगै व्यवस्थित, सर्वसुलभ यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार नै भन्ने गरेको छु,’ उहाँले थप्नुभयो । जनताको सरकार जनताको अधिकार भन्ने नाराका साथ नै आफू हिँडिरहेको महरले प्रस्ट्याउनुभयो । आफू नेविसंघको अध्यक्ष हुँदा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने प्रबन्ध गर्न गर्नुपर्छ भनेर आवाज उठाएको बताउनुभयो ।

अहिले कार्यान्वयन नभए पनि यो माग सम्बोधनको चरणमा रहेको बताउनुभयो । नीतिको अभावले पनि यो विषय प्रक्रियागत रूपमा जान नसकेको बताउनुभयो । ‘सामाजिक उद्यमशीलता र एनजिओ फेड्रेसनका कुरा गर्दा कहिलेकाहीँ हामी वर्गीय नाफामा कुरा गर्छौं। तर, ड्युटीका कुराबाट भाग्छौं। अधिकार सबै चाहियो भन्ने गर्छौं,’ उहाँले भन्नुभयो ।