जनता टाइम्स

७ फाल्गुन २०७९, आईतवार १३:१३

भन्सार महसुल उठाउन हुम्लाबाट काठमाडौँमा


सुर्खेत, ७ फागुन । हुम्लाको यारी भन्सार कार्यालयमा रहेका कर्मचारीले उधारोमा भन्सार महसुल राख्ने गरेका छन् । चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सामा नआएपछि उधारोमा सामानको विवरण तयार गरेर उधारोमा राख्नु परेको हो ।

चीनले यारी नाका एकतर्फी खुलाएको छ । कार्यालय प्रमुख रामराज जैसी हिल्सामा पुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुरको बिल काटे पनि रुपैयाँ असुल गर्न नसकेको बताएका छन् । हाल व्यापारी र निर्माण व्यवसायी सबै काठमाडौं रहेको कारण सो भन्सार महसुल असुल गर्न उहाँ काठमाडौं पुग्नुभएको हो ।

सबै व्यापारीसँग उहाँको काठमाडौंमा सम्पर्कसमेत भइसकेको छ। । चीनबाट आयात भएको सामानको भन्सार महसुल १० लाख रहेको र त्यसका एक लाख ८० हजार मात्र असुल भएको थियो भने ८ लाख २० हजार रुपैयाँ असुल गर्न बाँकी छ । भन्सार दस्तुर असुल भएको सामानमा खाद्यान्न र लत्ताकपडाको मात्र छ । असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको रहेको छ ।

अब काठमाडौंमै असुल गरेर नगद जम्मा गरिने भएको छ । पुस १३, १७, १८ र २१ गते गरी चार पटक एकतर्फी रूपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो । जसमा ३४ गाडी सामान नेपाल भित्रिएको थियो । जसमा ११ हजार बोरा सिमेन्ट र तीन गाडी सरिया आयात भएको थियो । हिमपातले नारा लेकको सडक बन्द भएका कारण सो सामान पनि हिल्सामै थन्किएको छ ।