जनता टाइम्स

२ भाद्र २०७६, सोमबार ०९:०४

आजबाट काश्मीरको श्रीनगरमा विद्यालय र सरकारी कार्यालयहरु खोलिँदै


काठमाडौं, २ भदौ जम्मू–काश्मीरमा सोमबारबाट प्राथमिक विद्यालय र स्थानीय सरकारी कार्यालयहरु खोलिने भएको छ। काश्मीरी अधिकारीहरुले संविधानको धारा ३७० हटाइएपछि अशान्त बनेको भारतको स्वशासित क्षेत्र काश्मीरको अवस्था बिस्तारै पुरानै अवस्थामा फर्काउने तयारी भइरहेको बताएका छन्।

उनीहरुका अनुसार आइतबार काश्मीरका केही स्थानमा टेलिफोन सेवा सुचारु गरिएकोमा सोमबार यहाँका प्राथमिक विद्यालय र सरकारी कार्यालयहरु खोल्ने तयारी गरिएको हो।

जम्मू–काश्मीर सरकारका प्रवक्ता तथा उक्त राज्यका मुख्य सचिव रोहित कंसलले आइतबार पत्रकारहरुसँग भने, ुहाम्रो योजना श्रीनगरका १ सय ९० भन्दा बढी प्राथमिक स्कुलहरु खोल्ने रहेको छ। हामीलाई विश्वास छ कि यसै दिनबाट सरकारी कार्यालयहरुले पनि पूर्णरुपमा काम गर्न थाल्नेछन्। आगामी दिनमा काश्मीरका अन्य क्षेत्रमा पनि बिस्तारै सहजता आउनेछ।

तर, सरकारले बताएजस्तै आफ्ना छोराछोरीलाई विद्यालय पठाउन श्रीनगर क्षेत्रका अभिभावकहरु पूर्णरुपमा निश्चिन्त हुनसक्ने वातावरण भने बनिनसकेको छ। सोमबार बजार इलाका रहेको र अन्य क्षेत्रभन्दा शान्त रहेको काश्मीरको श्रीनगर क्षेत्रमा विद्यालय खोल्ने बताइएको छ। सरकारले सोमबारदेखि शिक्षकलाई विद्यालयमा उपस्थित हुन सूचित गरे पनि कति अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय पठाउँछन् भन्ने महत्वपूर्ण हुनेछ। यसबाट सो क्षेत्रका जनताको मनस्थितिको समेत आँकलन गर्न सकिने बताइएको छ।

जम्मू(काश्मीर राज्यलाई दिइएको विशेषाधिकार सम्बन्धी संवैधानिक व्यवस्था खारेज गर्ने सरकारको निर्णपछि काश्मीर क्षेत्रमा कर्फ्यू लगाइनुका साथै सञ्चार तथा इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको थियो। पछिल्ला केही दिनदेखि सो क्षेत्रमा निषेधहरुलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ। टेलिफोन सुविधा खुकुलो लगिँदै गएकोमा अधिकतम इलाकामा भने अवस्था सामान्य नरहेको बताइएको छ।

शनिबार मात्रै जम्मूका पाँच जिल्ला मुख्यालयहरु जम्मू, साँबा, कठुआ, उधमपुर र रियासीमा मोबाइलमा २(जी इन्टरनेट सेवा समेत सुचारु गरिएकोमा त्यसलाई पुनः बन्द गरिएको छ। जम्मू(काश्मीरमा धारा ३७० को खारेजीपछि भड्किन सक्ने हिंसा तथा अशान्तिलाई मध्यनजर गर्दै कानुनी तथा सुरक्षा व्यवस्था कायम राख्न सञ्चार सेवा अवरुद्ध गरिएको काश्मिर प्रहरीले जनाएको छ। बिबिसीबाट