जनता टाइम्स

२ भाद्र २०७६, सोमबार ०९:३८

एनआरएनए मलेसियाको अध्यक्षमा हरि भट्टराई, सिंगो कार्यसमिति निर्बिरोध


मलेसिया, भदौं २ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मलेसियाको अध्यक्षमा हरि भट्टराई निर्विरोध निर्वाचित हुनुभएको छ । मलेसियामा सामाजिक काममा निकै अग्र भागमा रहनुभएका भट्टराईलाई सवैले समर्थन गरेपछि निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचनका लागि भएको मनोनयनमा अध्यक्षमा भट्टराईको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

भट्टराईसँग अध्यक्षमा निर्वाचन लड्ने भनिएका सुन्दर आलेले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिएपछि सहमतिमा नयाँ कार्यसमिति चयन भएको हो । यस्तै सङ्घको महिला उपाध्यक्षमा शुभद्रा लिङ्ग्देन, उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, महासचिवमा हेमराज सापकोटा, दुई सचिव पदमा रञ्जितकुमार क्षेत्री, नन्दबहादुर क्षेत्री, कोषाध्यक्ष्मा कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्षमा राकेशप्रसाद महतो, युवा संयोजकमा रवीलाल अधिकारी, महिला संयोजकमा शारदा देवान याख्या निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै २० कार्यसमिति सदस्यमा पनि सबै निर्विरोध निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा महेन्द्रजङ्ग शाह र टेकबहादुर टमोटा निर्वाचित हुनुभएको छ । लामो समयदेखि मलेसियामा रहेर व्यवसाय गर्दै आउनुभएका भट्टराईले त्यहाँ रहेका नेपाली कामदारको हकहितका लागि लागी पर्ने बताउनुभयो । उम्मेदवारी घोषणाकै क्रममा उनले कामदारको कल्याणकारी कोषका लागि १४ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा उहाँको थियो ।मलेसियामा गैरकानूनी हैसियतमा रहेका कामदारलाई नेपाल पठाउन सहयोग गरिरहनुभएका भट्टराई सामाजिक सेवामा निकैसक्रिय हुनुहुन्छ ।

यस्तो छ भट्टराईको प्रतिवद्धता

गैरआवासीय नेपाली अभियानमा आवद्द सम्पूर्ण सदस्य ज्यूहरु, अग्रज अभियन्ता र सिङ्गो मलेसियाको नेपाली समाजले मलाई दिइरहेको साथ सहयोग र हौसला नै मेरा उर्जा हुन्। यहीं उर्जालाई सदुपयोग गर्दै गैरआवासीय नेपाली संघ मलेसियाको नेतृत्व गरेर मलेसियाको नेपाली समाजमा एउटा स्वर्णिम अध्याय थप्ने मेरो आकांक्षा सहित अध्यक्षको रुपमा मैले गर्ने कार्यगत योजना यहाँहरु समक्ष प्रस्तुत गर्दछु।

१. मलेसियामा कार्यरत श्रमिक दाजुरभाई, दिदी बहिनी समस्यामा परे वा नेपाल फर्किनु पर्ने अवस्था आए तिनलाई आर्थिक सहायता प्रदान गर्न श्रमिक कल्याणकारी कोष स्थापना गर्नेछु। उक्त कोषमा म व्यक्तिगत रुपमा ५० हजार रिंगेट हालेर कोषको सुरुवात गर्ने छु।

२. कोषलाई पारदर्शी ढंगमा संचालन गर्न म बाहेक संस्थामा आवद्द ३ सदस्यीय समिति निर्माण गर्नेछु। जसमा नेपाली दूतावास मलेसियाले सिफारिस गरेका समस्यामा परेका श्रमिकले पहिलो प्राथमिकतामा सहयोग पाउने छन्। यसले दूतावास र संघबीच अझ निकटता ल्याउन मद्दत पुर्याउने छ भने कसैलाई काखा कसैलाई पाखा गर्ने परिपाटीको अन्त्य गर्नेछ।

३. अध्यक्षमा निर्वाचित भएको ३ महिना भित्र संघको आफ्नै कार्यालय स्थापना गरेर संघका गतिविधि सबै माझ तत्काल पुग्ने गरि प्रभावकारी सूचना संयन्त्रको विकास गर्ने छु।

४. संघको विधान वमोजिम विभिन्न उप–समितिहरुको गठन गरि तिनको कार्यविधि निर्माण गर्नेछु। कार्यविधि वमोजिम उप(समितिहरुको कार्य प्रगति अर्धवार्षिक रुपमा आन्तरिक समिक्षा गरि कामलाई चुस्त र प्रभावकारी बनाउने छु।

५. मलेसियामा कार्यरत सबै संघर संस्था सँग सहकार्य गर्दै ति संस्थाबाट प्राप्त सल्लाह र सुझावलाई ग्रहण गर्दै अघि बढ्ने छु।

६. मलेसियाका विभिन्न ५ स्थानमा संगठन विस्तार गर्ने छु।

७. प्रत्येक महिना मलेसियाका विभिन्न सहरमा संस्थाका गतिविधि बारे र सो स्थानमा कार्यरत श्रमिकका समस्या बारे अन्तरक्रियात्मक कार्यक्रम संचालन गर्ने।

८. नेपाल र मलेसियाबीचको दशकौ लामो दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने काम गर्ने छु।

९. दुई देशको भाषा, संस्कृति र कलाका माध्यमबाट एक अर्कामा जोड्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने र धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन विभिन्न प्रवार्दनात्मक कार्यक्रम संचालन गर्नेछु।

१०. श्रमिकको हक, हितका लागि नेपाली दूतावास मलेसिया सँग सहकार्य गरेर अघि बढ्ने।

११. “श्रमिकको आम्दानी, नेपालमा लगानी” भन्ने मुल नारालाई अघिसार्दै आईसीसीसँग समन्वय गरि मझौला तथा ठुला उद्योगमा लगानीको वातावरण निर्माणमा पहल गर्नेछु। ठुला लगानीकर्ताहरुलाई प्रोत्साहित गर्दै ूएनआरएनए इन्भेस्टमेन्ट फण्डू मा लगानी गर्न सहजिकरण गर्नेछु।

१२. आईसीसीसँगको संवादलाई अझ गतिशील र प्रभावकारी बनाउन संस्थागत र व्यक्तिगत दुवै सम्वन्धको माध्यमबाट भरपुर सहयोग गर्नेछु।

१३. “अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन”को निति अवलम्वन गर्दै एनआरएनए मलेसिया सबैको साझा संस्था भन्ने भाव जागृत गराउने छु।

१४. एनआरएनए एनसीसी मलेसियालाई एक गैर नाफामुलक साझा समाजिक संस्थाको रुपमा विकसित गर्दै मलेसियाको कानुन बमोजिम दर्ता गर्न सबैको साथ् र सहयोग लिएर अघि बढ्नेछु।