जनता टाइम्स

११ फाल्गुन २०७९, बिहीबार १८:३९

जी–२० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान


काठमाडौं, ११ फागुन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गर्नुभएको छ । जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उहाँ भारत प्रस्थान गर्नुभएको हो । जी–२० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ ।

सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयका चुणमणि अर्यालले जानकारी दिनुभयो । उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत प्रस्थान गर्नुभएको हो ।

नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरु छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।