जनता टाइम्स

२ भाद्र २०७६, सोमबार ११:५९

एनआरएनए युकेको अध्यक्षमा सुनार र गुरुङको उम्मेदवारी, मनोनय दर्ताबाटै उठ्यो एक करोड


लण्डन, भदौ २

गैर आवासीय नेपाल संघ (एनआरएनए) युकेको निर्वाचनका लागि १ सय १७ जनाको उम्मेदवारी परेको छ । १४ सेप्टेम्वरमा हुन लागि रहेको निर्वाचनका लागि यति ठुलो सख्यामा उम्मेदवारी परेको हो । करिब १४ हजार सदस्य मतदाता संख्या बनाएर विश्वकै ठूलो राष्ट्रिय समिति (एनसीसी) पनि बनेको छ ।

इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड गरी ४ राज्य समन्वय परिषद समितिका १०\१०, युनाइटेड किङ्गडम (यूके) अर्थात् संयुक्त अधिराज्य, बेलायतको केन्द्रीय कार्यसमितिका २७, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यका ७ गरी कुल ७४ पदका लागि जम्मा १ सय १७ उम्मेदवारले आइतवार उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

एनआरएन यूकेको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय शेर बहादुर सुनार र पुनम गुरुङको उम्मेदवारी परेको छ । वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् भने स्कटल्याण्ड र इंग्ल्याण्ड राज्य परिषद एवम् यूके केन्द्रीय समितिका सबै पदमा आवश्यक संख्या भन्दा बढिको उम्मेदवारी परेको छ ।

यूके केन्द्रीय कार्यसमितिको खुला उपाध्यक्षको २ पदमा वर्तमान उपाध्यक्ष्य प्रेम गाहा मगर, पशुपति पोखरेल, कमल पौडेल, सुनिल खड्का र धन सार्कीसहित ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र विमला लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय कार्यसमिति उपाध्यक्षमा राज्य परिषदको कोटाबाट नर्दन आयरल्याण्डबाट नारायण कंडेल र वेल्सबाट रामचन्द्र पोखरेल निर्विरोध भएका छन् भने स्कटल्याण्डबाट यज्ञमुर्ति ढकाल र मोहन कार्की गरि २ जनाले उम्मेदवारी दिएका छन् ।

अर्को महत्वपुर्ण पद यूके केन्द्रीय महासचिवमा फडिन्द्र भट्टराई र कर्मा पहाडी शेर्पा एवम् २ जना सचिवको पदमा विष्णु खरेल ,कोशलेश्वर (कृष्ण) ढकाल, जित रानाभाट, भोलाविक्रम राई र भाग्यनारायण रायसहित ५ जनाको उम्मेदवारी परेको छ । १ जना महिला सचिवका लागि रञ्जिता मल्ल र लिला सेलिङ माबोले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा तिलकराम भट्टराई र तेजेन्द्र रोका, सहकोषाध्यक्षमा विष्णु चालिसे र सकुन्तला गुरुङ, महिला संयोजकमा प्रसुना कंडेल र क्षमता ढकाल, युवा संयोजकमा हेम गुरुङ, अनिल मल्ल र नविन गुरुङको उम्मेदवारी परेको छ । १२ जना कार्यसमिति सदस्यमा २१ जनाको उम्मेदवारी आएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का ७ वटा सदस्यको लागि योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने , राजन खकुराल, अर्कराज तिम्सिना, अर्जुन कटुवाल , सुरोज मास्के, होमनाथ पौडेल, कृष्ण तिवारी, रमेश शर्मा बांस्तोला, मनिष खड्का, शालिक सापकोटा, सुशिला राई र लिलादेवी गुरुङले उम्मेदवारी दिएका छन् ।

इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा दिपक श्रेष्ठ र भीम सारु तथा स्कटल्याण्ड राज्य परिषद् अध्यक्षमा छविलाल अर्याल र काशिराम भण्डारीको उम्मेदवारी परेको छ । नर्दन आयरल्याण्ड परिषदमा नारायणबहादुर कुँवर र वेल्स राज्य परिषदमा कृष्णप्रसाद भण्डारीको नेतृत्वको कार्यसमिति निर्विरोध भएको छ ।