जनता टाइम्स

१५ फाल्गुन २०७९, सोमबार १४:१७

सुनकोसीमा सडिसकेको शव फेला


खोटाङ, १५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा सुनकोसी किनारमा पुरुषको सडिसकेको शव फेला परेको छ । साविकको च्यास्मीटार–६ बालुङबारीको राजदहमा सडिसकेको अवस्थामा नाम, थर र ठेगाना नखुलेको शव फेला परेको हो । शवलाई प्रहरीको मुचुल्का उठाएर सतगद गरिएको च्यास्मीटारका वडाध्यक्ष भुपालसिं राईले बताउनुभयो ।

शव करिब दुई–तीन हप्ताअघिको भएको अनुमान गरिएको छ । हालसम्म कोही व्यक्ति हराएको, नदीले बगाएको वा हाम फालेको जानकारी नआएको प्रहरीले जनाएको छ । ओखलढुंगा, सिन्धुली, काभ्रे लगायतका छिमेकी जिल्लामा बुझ्दा कोही व्यक्ति हराएको जानकारी नआएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो ।

माझी समुदायले मृत शरीर नदीमा बगाएको अनुमान गरिएको छ । माझी समुदायमा मृत शरीर नदीमा बगाउने प्रचलन छ । ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २७ वर्षीय मनबहादुर तामाङ सुतेकै ठाउँमा मृत फेला पर्नुभएको छ । आफन्तको जन्ती जानुभएको तामाङ सुतेकै ठाउँमा मृत फेला परेको डिएसपी मुकारुङले बताउनुभयो ।