जनता टाइम्स

१५ फाल्गुन २०७९, सोमबार १७:५१

अझै सम्पूर्ण नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा अनुभुत गर्न पाएका छैनन् : पदम गिरी


काठमाडौं, १५ फागुन । निवर्तमान स्वास्थ्यमन्त्री पदम गिरीले विगतका वर्षहरुको तुलनामा नेपालको स्वास्थ्य क्षेत्रमा केही परिवर्तन आए पनि अझै सम्पूर्ण आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको अनुभुति गर्न नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । स्वास्थ्यमन्त्रीको रुपमा गरेको आफ्नो अन्तिम सम्बोधनमा नेपालको स्वास्थ्य क्षेत्र सुधार तथा निःशुल्क उपचारलाई प्रभावकारी बनाउनका लागि सुझाव प्रस्तुत गर्नुभयो ।

एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेसँगै गिरीले स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यलाई निःशुल्क बनाउन सुझाव दिनुभयो । स्वास्थ्य क्षेत्र सुधार गर्न स्वास्थ्य बीमा रकमलाई ५ लाखसम्म पुर्याउन आवश्यक रहेको गिरीले बताउनुभयो ।

यस्तै, आम मानिसलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउन अस्पतालको सरसफाईदेखि प्रविधिमैत्री वातावरणको निर्माण गरिनुपर्ने गिरीको सुझाव छ । न्युनतम स्वास्थ्य मापदण्डलाई सम्पूर्ण स्वास्थ्य संस्थामा प्रभावकारी ढंगले कार्यान्वयन गराउन आवश्यक जनशक्तिको व्यवस्थापन गरिनुपर्नेमा गिरीले जोड दिनुभयो ।

‘अस्पताल भित्र छिरेपछि अस्पताल जस्तै हुनुपर्यो, त्यहाँ गन्ध आउनु भएन बास्ना आउनुपर्यो, कर्मचारी छैनन् भने कर्मचारी ल्याउन पर्यो । उहाँले भन्नुभयो,‘अझै पनि म्यानुअल्ली सेवा चलाईरहने हैन अस्पातलको एपबाट वीर अस्पतालमा आईसीयु खाली छ कि छैन भन्ने थाहा हुनुपर्छ ।’