जनता टाइम्स

२ भाद्र २०७६, सोमबार १८:११

सुमार्गीमाथि सरकारको एक्शन : रोयल्टी शुल्क नबुझाएपछि हेलो नेपालको लाइसेन्स खारेज


काठमाडौं, भदौं २ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्यापारी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । सुमार्गीले हेलो नेपाल नामक मोबाइल सेवा सञ्चालनका लागि प्राधिकरणबाट पाएको लाइसेन्स खारेज गरिएको हो ।

दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार आइतवार बसेको प्राधिकरण बोर्ड बैठकले व्यवसायी सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ । सो कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयभित्र नबुझाएको कारण लाइसेन्स खारेज गरिएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।

प्राधिकरणले सो कम्पनीलाई रोयल्टी तथा नविकरण शुल्क बापतको रकम बुझाउन जेठ मसान्तको अन्तिम समयसीमा दिएको थियो । त्यसबेला नतिरेपछि समय सारेर भदौ १ सम्म नतिरे लाइसेन्स खारेज गरिदिने निर्णय गरेको थियो । तर थप भएको समयमा पनि सुमार्गीले रकम नबुझाएपछि लाइसेन्स खारेज भएको हो ।

सो कम्पनीले ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गर्ने गरी २०६४ फगुनमा लाइसेन्स पाएको थियो। नेपाल स्याटेलाइटले मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको छ । उपत्यका बाहिर सेवा दिंदै आएपछि काठमाडौं प्रवेश गर्न पाउनेगरी लाइसेन्स पाएको कम्पनीले पछिल्लो समय सेवा विस्तारमा खासै लगानी गरेको छैन ।

प्राधिकरणले लाइसेन्स खारेज गरेपनि ३५ दिनभित्र नेपाल सरकारसमक्ष कम्पनीले पुनरावेदन दिन सक्छ । यसरी पुनरावेदनमा सरकारले निर्णय गरेर सुमार्गीको पक्षमा लाइसेन्स यथावत राखिदिने ठाउँ भने कायमै छ । तर सरकार राजस्व नतिर्ने ब्यवसायीप्रति कठोर नीति लिएकोले उनको त्यो संभावना पनि निकै कमजोर रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तोकिएको समयभित्र रोयल्टी नबुझाउने कम्पनीबिरुद्ध कठोर नीति लिने घोषणा गरिसक्नुभएको छ । प्रधानमन्त्री ओली र मन्त्री बाँस्कोटाको सोही नीतिका कारण प्राधिकरणले सुमार्गीको हेल्लो नेपालको लाइसेन्स खारेज गरेको हो ।