जनता टाइम्स

२ भाद्र २०७६, सोमबार १९:३३

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण : आरोपी अस्मिताले खोलिन नयाँ रहष्य


चितवन, भदौ २

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेकी अस्मिता कार्कीसँग प्रहरीले बयान लिएको छ । बयानमा कार्कीले शालिकरामलाई आफ्ना पूर्वप्रेमी जस्तो देखेर फ्रेण्ड रिक्वेस्ट पठाएको बयान दिएकी छन् ।

प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घटनामा मृत्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी हुन् । फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्।

‘‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरीसँग दिएको बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’ प्रहरीले पत्रकार युवराज कँडेलसँग भने लिखित बयान लिएको छ । अहिले रवि लामिछानेसँग बयान लिने काम भईरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले विज्ञ टोलीले तीनैजनालाई फरक समयमा बयान लिने रणनीति बनाएको छ । प्रहरीले तीनैजनाको प्रारम्भिक बयानसहित मंगलबार चितवन जिल्ला अदालतबाट थप अनुसन्धान म्याद लिन तयारी गरेको छ।

यसैविच, चितवन प्रहरीको अनुरोधमा प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब (डिएफएल) ले २० साउन २०७६ मा मृत्तक शालिकरामका साथबाट बरामद मोबाइलका सम्पूर्ण डाटा रिकोभर गरेको छ। शालिकरामले बोकेको उक्त मोबाइल सञ्चालन भएदेखिका डाटाहरु रिकभर गरिएका हुन्। पहिला–पहिला मेटाएका फोटो, अडियो र भिडियोे समेत रिकोभर गरिएको हो।