जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १४:२२

दुर्गम गाउँमा एम्बुलेन्स सेवा


मान्मा, भदौ ३

पचालझरना गाउँपालिकामा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमै एम्बुलेन्स नहुँदा महँगो शुल्क तिरेर अस्पतालसम्म जानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयवासी गाउँमै सेवा पाउने भएपछि खुशी भएका हुन् । सर्वसाधारणको उपचारमा सहज पहुँच अभिवृद्धिका लागि सो गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको हो ।

दुर्गम क्षेत्रमा आकस्मिक उपचारका समयमा हुन आउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल बताउनुभयो । “यहाँका मानिसहरुमा अझै पनि अस्पताल पुग्न सहज वातावरण छैन”, उहाँले भन्नुभयो, “स्थानीयवासीको सहजताका लागि एम्बुलेन्स खरीद गरेका हौँ ।” गाउँपालिकाको रु १२ लाखको लगानीमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै दुर्गम तथा पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकारले सबै प्रकार सेवा दिन तयार रहेको बताउनुभयो । “अहिले पनि कर्णाली प्रदेश स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “हामीले सबै नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउने गरेर काम थालेका छौँ ।”