जनता टाइम्स

२३ फाल्गुन २०७९, मंगलवार १०:१५

यसरी गरिदैंछ विदेशमा एमालेको प्रचार, प्रवासी नेपाली मञ्चले गर्दैछ विविध कार्यक्रम


काठमाडौं, २३ फागुन । नेकपा एमाले निकट प्रवासी नेपालीहरूको संगठन ‘प्रवासी नेपाली मञ्च’ ले आफूलाई सक्रिय पारेको छ । केही महिनाअघि काठमाडौंमा अधिवेशन सम्पन्न गरेर छानिएको नयाँ नेतृत्वले विदेशमा रहेका नेपालीमाझ एमालेको प्रचार–प्रसार गर्न आफूलाई सक्रिय बनाएको हो ।

मञ्चले भर्चुअल माध्यमबाट पहिलो बैठक बसेर शपथ ग्रहणका साथै विभिन्न विभाग गठन गरेको छ । नवगठित विभागहरूले आ–आफ्ना काम पनि अघि बढाइसकेको कला, साहित्य तथा संस्कृति विभाग प्रमुख चानक पोखरेलले बताउनुभएको छ । उहाँका अनुसार कला साहित्य तथा संस्कृति विभागको समन्वयमा बुधबार अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन लागिएको छ भने नयाँ वर्षको स्वागतार्थ साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागिएको छ ।

क. सीता पोखरेलको प्रमुख आतिथ्यमा हुन गइरहेको महिला दिवसको काक्रममा अतिथिहरू राधा ज्ञवाली, कुन्ती थापा, बिमला बिक, सञ्जय थापा र रिता ढुंगेल रहनु भएको छ । सो कार्यक्रममा सहभागि हुन सम्पूर्ण प्रवासी नेपालीलाई मञ्चले अनुरोध गरेको छ ।

त्यस्तै नयाँ वर्ष २०८० को स्वागतार्थ मञ्चको कला, साहित्य तथा सास्कृतिक विभागको समन्वयमा चैत ३० गते साँझ सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रममा उत्साहजनक सहभागिताका लागि सबै प्रवासी नेपालीलाई अनुरोध गरिएको विभाग प्रमुख चानक पोखरेलले जनाउनुभएको छ ।