जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १५:३६

सिंहदरबारमा मृत भेटिएका नासु केसीको सुसाइड नोट भेटियो, यस्तो छ आत्महत्याको कारण


काठमाडौं, भदौं ३ । मुलुकको मुख्य प्रशासनिक केन्द्रभित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पुष्टि भएको छ । राष्ट्रिय योजना आयोगको कार्यालयमा मृत भेटिएका नायब सुब्बा बच्चु केसीको सुसाइड नोट प्रहरीले फेला पारेको हो ।

अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, सुसाइड नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत उनले नोटमा लेखेका छन् ।

घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् । यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने प्रहरीले जनाएको छ । उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ । औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ ।

उनको मृत्युबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । सिंहदरबारस्थित राष्ट्रय योजना आयोगमा मृत भेटिएका नासु केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश तथ्य खुलिसकेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट राती ११ बजे केसी कार्यालय छिरेको देखिएको बताएको हो । राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी ११ बजे कार्यालय छिरेको प्रहरीले बताएको जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा केसी बिहान आयोगको सभाहलमा मृत भेटिएका थिए ।

‘साँझ ५ः२७ बजे निस्केर पुनः राति ११ बजे छिरेको सीसीटीभी फुटेजमा देखिएको छ’, घटनास्थल निरीक्षण गरेर बाहिर निस्कने क्रममा सांसद केसीले प्रहरीको भनाई उधृत गर्दै पत्रकारसँग भन्नुभयो । मृतक केसी भुईँमा डल्लो परेर लडेको अवस्थामा देखिएको केसीको भानई छ । उहाँका अनुसार टेबलमा केरा र बट्टाहरू देखिएको छ ।

मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको छ । फरेन्सिक चिकित्सक ल्याएर घटनाको थप अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । मृतक केसी काठमाडौंका कीर्तिपुर नगरपालिका टौदह निवासी हुन् ।