जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १७:३७

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रविसहित तीनै जनालाई थप पाँच दिन थुनामा राख्न आदेश


चितवन, भदौं ३ । जिल्ला अदालत चितवनले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीनै जनालाई पुनः ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । अनुसन्धान र बयान जारी रहेको कारण देखाई जिल्ला अदालतले आज पुनः पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

यस अघि चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि भन्दै गत बिहीबारबाट लागू हुनेगरी ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको थियो । पाँच दिनको म्याद आज सकिएपछि चितवन जिल्ला अदालतले पुनः ५ दिनको म्याद थप गरेको हो । लामिछानेसहित तीनै जनालाई मुलुकी फौजदारी संहिता अन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो । पत्रकार पुडासैनीले आत्महत्याअघि गरेको भिडियो रेकर्डमा लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको नाम किटानी गरेका थिए ।

गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछानेसहित तीनै जनालाई शुक्रबार बिहान चितवन लगिएको थियो । आज पुन म्इाद थप भएको हो । चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले पुडासैनीको आरोप सही वा गलत भन्ने बिषयमा तीनै जनासँग बयान लिएको छ । अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले ५ दिनसम्म प्रहरीको हिरासतमै रहनुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अस्मिता र युवराजको साबिति बयान लिइसकिएको जनाएको छ । युवराजको लिखित र अस्मिताको भिडियो बयान लिइएको जनाइएको छ ।

रविसँग भने मंगलबार विहान बयान लिने क्रम शुरु भएको प्रहरीले जनाएको छ । मृतक पत्रकार पुडासैनीको शवको पोस्टमार्टम रिपोर्ट लगायत अन्य प्रमाण पनि आज अदालतमा पेश गरेको प्रहरीले जनाएको छ । रविमाथि अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार अदालती समयको शुरुवातमै उपस्थित गराइए पनि रविको पक्षमा अधिवक्ताको बहसका कारण म्याद थपको आदेश ढिला मात्रै आएको हो । चितवन जिल्ला अदालत स्रोतका अनुसार मंगलबार करिब आधा दर्जन अधिवक्ताहरुले रविको प्रतिरक्षामा बहस गरेका थिए ।