जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १९:१२

पद घटुवापछि माधव नेपाल चरम असन्तुष्ट : प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिस्कार


काठमाडौं, भदौं ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वदलीय बैठकमा नेकपा नेता माधव कुमार नेपालले बहिस्कार गर्नुभएको छ । सचिवालयले बरियता घटुवा गरेपछि नोट अफ डिसेन्ट बुझाउनु भएका नेता नेपाल प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठकमा बिना जानकारी अनुपस्थित हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न बनेको आयोग पदाधिकारी चयनका लागि बालुवाटारमा बैठक बोलाउनु भएको थियो । आफूलाई मर्यादाक्रममा तल पारेपछि निकै रुष्ट बन्नुभएका नेता नेपाल असन्तुष्टिकै कारण सो बैठकमा नजानुभएको हो । अध्यक्ष ओलीले वरिष्ठ नेताहरूको मर्यादा हेरफेरसम्बन्धी एजेन्डा अचानक प्रवेश गराएको भन्दै वरिष्ठ नेता नेपाल असन्तुष्ट बन्नुभएको हो । वरिष्ठ नेता झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी एजेन्डालाई साथ दिएर अध्यक्ष ओलीले आफूलाई सुनियोजित रूपमा किनारा लगाउन खोजेको नेपालको बुझाइ छ ।

गत शुक्रबारको बैठकमा वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरिएलगत्तै आफूमाथि अन्याय भएकाले खनालले वरीयताक्रम पुनरावलोकन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । टुंगिसकेको मुद्दा उठाएर हेरफेरको कोसिस गरिए विधानमा व्यवस्था गरिएको एक व्यक्ति : एक जिम्मेवारी अध्यक्षबाटै लागू हुनुपर्ने माग नेपालको तयारी छ । तर सचिवालय बैठकमा नेपाल एक्लै पर्नुभएपछि सुनुवाई हुने संभावना रहेको छैन । बरियता हेरफेर पछि नेता नेपालले सार्वजनिक मञ्चबाट समेत पार्टी निर्णयको बिरोध गर्न थाल्नुभएको छ ।