जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार २१:१९

व्यवस्था उल्टाउन खोज्नेविरुद्ध सवै दल एकजुट


काठमाडौं, भदौ ३

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, संविधान, लोकतन्त्र र संघियताको रक्षाका लागि एकजुट हुन दलहरुसग आव्हान गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलिय बैठकमा उहाले देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउदै सहकार्य गर्नुपर्ने प्रस्ताव राख्नु भएको हो ।

उहाको प्रस्तावमा समर्थन जनाउदै सबै दलले गणतन्त्र विरोधीका विरुद्धमा एकजुट हुने निर्णय गरेका हुन् । दक्षिणपन्थी र उग्रवामपन्थीबाट राज्य प्रणालीमाथि प्रहार हुन लागेको भन्दै प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो । ‘हामी लामो समयसम्म एउटै उद्देश्यले हिँडेका हौँ । समझदारी र सहकार्य अघि बढाउन यो बैठक बोलाएको हुँ’, ओलीको भनाइ उद्धृत् गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

‘हिजो जुन शक्ति र तत्वहरू विस्थापित भएका थिए, तिनीहरूबाट नै केही न केही चलखेल हुन सक्ने भन्नेमा छलफल भयो’, उहाले भन्नुभयो, ‘प्रतिगमन हुन्छ भन्ने हाम्रो निचोड होइन । तर केही खतरा भएको भन्ने हाम्रो निचोड रह्यो ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीको भनाईको समर्थन गर्नुभएको थियो ।

बैठकपछि कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले ल्याउने विधेयकमा पर्याप्त छलफल नभएको जानकारी आफूहरूले गराएको बताउनु भयो । ‘विधेयकबारे हामीले प्रश्न उठायौँ । सच्याउनुपर्ने कुरा सुधार गर्नु जरुरी छ’, उहाले भन्नुभयो, ‘प्रधानमन्त्री आफैँले शक्ति हातमा राखेको कुरा उठायौँ । उहाँले हाम्रा कुरा नकारात्मकरूपमा लिनु भएन ।’

बैठकमा विपक्षी नेताहरुले प्रधानमन्त्रीको स्वास्थ्यस्थितीका बारेमा पनि चासो राखेका थिए । प्रधानमन्त्री ओलीले बाहिर विभिन्न हल्लाहरु आइरहेको भन्दै आफ्नो स्वास्थ्यमा ठूलो समस्या देखा नपरेको बताउनु भएको थियो । ‘मृगौला प्रत्यारोपण गरेको पनि छैन, गर्नुपर्ने अवस्था पनि छैन । औषधीहरु मात्रै मिलाउनु परेको मात्रै हो, ८\१० दिनमा म फर्किहाल्छु’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले जानकारी दिनुभयो ।