जनता टाइम्स

४ भाद्र २०७६, बुधबार ०९:०६

अन्तर्राष्ट्रिय अदालत जाने पाकिस्तानको निर्णय


 

काठमाडौं, भदौ ४  जम्मू–कश्मीर सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानले बताएको छ । पाकिस्तानले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो ।

भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा र स्वायत्तता खोसेपछि पाकिस्तान त्यसको विरोधमा छन् ।

पाकिस्तानले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको ढोका ढकढक्याएको पाकिस्तानले अब यो विषयलाई अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो ।

कश्मीरका पूर्ण भागमा दुवै देशको दाबी रहँदै आएको छ तर विभाजित भागमा मात्रै उनीहरुको शासन रहेको छ । कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबिच लामो समयदेखि विवाद छ । तर पछिल्लो पटक यो विवाद उत्कर्षमा पुगेको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेसीले मंगलबार एअर न्युज टिभीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने निर्णय गरेका छौँ । यो निर्णय सबै कानूनी पक्षको विश्लेषण गरेर लिइएको हो ।’

भारतले कश्मीरमा टेलिफोन तथा इन्टरनेट सेवा लामो समय बन्द गरेको थियो । टेलिफोन सेवा स्थापित भए पनि इन्टरनेट सेवा अझैसम्म सुचारु छैन ।