जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १९:३८

युवा संघ काभ्रेले गर्यो पार्टीको निर्देशन अबज्ञा : ५८ सदस्यीय कमिटीमा ६ जनामात्रै महिला, पदाधिकारीमा सून्य


बनेपा, फागुन २८ । नेकपा एमालेको शक्तिशाली भातृ संस्था युवा संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । एक दशकपछि भएको अधिवेशनले इश्वर बल्लभ सापकोटाको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

नेकपा एमाले काभ्रेका अध्यक्ष एंव अध्यक्ष मण्डलका अध्यक्ष अशोक व्याञ्जू श्रेष्ठले आज सर्वसम्मत रुपमा युवा संघको नेतृत्व चयन गरेको सूचना जारी गर्नुभएको छ । उहाँले हस्ताक्षर गरेको सर्वसम्मतीको निर्णयमा राखिएको विवरणमा ६ जना पदाधिकारीमा महिलाको उपस्थिति सून्य रहेको छ भने ५८ सदस्यीय जिल्ला कमिटीमा ६ जना मात्रै महिलाको उपस्थिति देखिएको छ ।

जिल्लाका १३ स्थानीय तहका ४५२ जना प्रतिनिधिको सहभागितामा अधिवेशनको बन्द शत्र भएको थियो । त्यसमा कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधि सहभागी भएपनि पदाधिकारीमा भने कुनै पनि महिला नेतृले अवसर नपाएका हुन । युवा संघका निर्वतमान अध्यक्ष सागर रायमाझीले बाँकी सात जना महिलालाई जिल्ला कमिटीमा मनोनित गर्ने आश्वासन दिएको भएपनि अध्यक्षमण्डले सार्वजनिक गरेको विवरणमा सो कुरा उल्लेख छैन ।

युवा संघ काभ्रेको ईतिहासमा हालसम्म कुनै पनि महिला नेतृ जिल्ला अध्यक्ष बन्न सकेका छैनन । सहमतिबाटै नेतृत्व हस्तान्तरण हुँदै आएको युवा संघ नेपालको जिल्ला अधिवेशनको बन्द शत्रले धुलिखेलका ईश्वरवल्लभ सापकोटालाई अध्यक्षमा चयन गरेको छ । दुई दिनसम्म चलेको अधिवेशनमा सागर रायमाझीले सर्वसम्मतको लागि मार्ग प्रशस्त गरेसँगै सापकोटालाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले तेमालका रुपक रायमाझीलाई उपाध्यक्ष, सचिवमा धुलिखेलका सिवी तामाङलाई चयन गरेको छ । यस्तै सहसचिव नमोबुद्धको अमन धिताल र पनौतीका सुरेश भुजेल तथा कोषाध्यक्ष बनेपाका रमेश बुढाथोकी सहित ५८ सदस्यीय जिल्ला कमिटी बनेको हो । अधिवेशनको शनिबार एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभएको थियो ।

युवा संघ काभ्रेको यो सूची सार्वजनिक भएसँगै काभ्रे युवा संघले नेकपा एमालेले जारी गरेको निर्देशिका उलंघन गरेको देखिएको छ । एमालेले जनसंगठन समन्वय संयन्त्रले बनाएको निर्देशिका जारी गर्दा हरेक जनसंगठनमा एक तीहाइ महिलाको सहभागिता अनिवार्य हुनेपर्ने बाध्यात्मक ब्यवस्था गरेको छ ।

धुलिखेलमा सम्पन्न पछिल्लो कार्यशालाले समेत यस बिषयलाई कडाईका साथ लागू गर्ने प्रतिवद्धता जनाएको छ । तर काभ्रेमा भने ५८ जनामा जम्मा ६ जना मात्रै महिला निर्वाचित गरेर ४ प्रतिशतभन्दा तल्लो स्थानमा राखिएको छ ।

हेर्नाेस सूची