जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १०:०८

माधव नेपाललाई राजेन्द्र गौतमको काउन्टर : प्रधानमन्त्री र अध्यक्ष दुवैमा जनअनुमोदित हुन ओली


काठमाडौं, भदौ ४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रेस संगठन नेपालका इन्चार्ज राजेन्द्र गौतमले केपी शर्मा ओलीलाई जनमत र पार्टी म्यान्डेड दिएकाले अध्यक्ष र प्रधानमन्त्री पद दुवै नछाड्ने बताउनु भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको १५ महिनापछि ‘एक व्यक्ति एक पद’ लागु गर्नुपर्ने भन्दै लिखित अहसमति केन्द्रीय कार्यालयमा दर्ता गरेपछि गौतमले काउन्टर दिनु भएको हो । उहाले सामाजिक सञ्जालमा ‘किन छोड्ने केपी ओलीले ?’ भनेर सातै बुँदामा जवाफ दिनु भएको छ ।

नेता गौतमले राष्ट्रियताको रक्षा, राष्ट्रिय एकताको संरक्षण गरेकाले छोड्नुपर्ने वा तेस्रो स्थानको पार्टीलाई पहिलो बनाएकाले छोड्नुपर्ने भनेर प्रश्न गर्नुभएको छ । यसैगरी राष्ट्रिय राजनीतिमा स्थिर सोच र भूमिका सुस्पष्ट पारेकोले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक छाड्नुपर्ने कि ऐतिहासिक कम्युनिष्ट एकता गरेकाले छाड्नुपर्ने भनेर उल्लेख गर्नुभएको छ ।

नेता गौतमले अध्यक्ष एंव प्रधानमन्त्री ओलीले जनताका मुर्छित सपनालाई ब्युझाएको समेत बताउनु भएको छ । उहाले जनतामा छाएको निराशालाई ओलीले आशा जगाएको उल्लेख गर्नुभएको हो । यसैगरी उहाले जनताले ओलीलाई प्रधानमन्त्रीका रुपमा पाँच वर्ष र पार्टीको महाधिवेशनले ओलीलाई अध्यक्ष बनाएकाले दुवै पद नछाड्ने स्पष्ट पार्नुभएको छ ।

‘जनताले ओलीलाई ५ बष॔को म्यान्डेड दिएको हो, पार्टी अध्यक्ष महाधिवेशनले बनाएको हो’, उहाले अगाडी लेख्नु भएको छ,‘त्यसकारण ओलीले नत अध्यक्ष, नत प्रधानमंत्री छोड्दछन् । जनमत, र महाधिवेशनको म्यान्डेड केपी ओलीलाई नै छ।’