जनता टाइम्स

३० फाल्गुन २०७९, मंगलवार ०८:१४

फागुनमै अत्यधिक गर्मी


सर्लाही, ३० फागुन । सर्लाहीसहित तराईका जिल्लामा यस वर्ष फागुन नसकिँदै अत्यधिक गर्मी हुन थालेको छ। गएको भदौदेखि वर्षा नभएपछि तराई क्षेत्रमा उखरमाउलो गर्मी हुन थालेको हो।

फागुन महिनामै दिउँसो बाहिर निस्कनै गाह्रो पर्ने गरी चर्को घाम हुने गरेको हुँदा तराईवासी प्रभावित हुन थालेका छन्। चर्को घाम लाग्दा तराई क्षेत्रको तापक्रम दिनहुँ बढ्दो क्रममा छ। सोमबार मध्याह्न सर्लाहीको तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएको छ। हरिपुर नगरपालिका–५, असन्माकी प्रमिलादेवी माझीले फागुनमै अत्यधिक गर्मी भएको पहिलो पटक महसुस गरेको बताउनुभयो।

“अहिले फागुनमै यस्तो गर्मी छ वैशाख, जेठ लागेपछि झन कस्तो गर्मी होला रु” मजदुरीको काम गर्दै आउनुभएकी माझीले भन्नुभयो, “अहिले धमाधम घर बनाउनेलगायत अन्य निर्माणका काम भइरहेका छन् तर चर्को घाममा उभिएर काम गर्नै गाह्रो छ।” फागुनमै चौतारीको छहारीमा बस्नुपर्ने गरी गर्मी हुँदा बूढापाकाले आश्चर्य व्यक्त गरेका छन्।

सामान्यतया तराई क्षेत्रमा वैशाख लागेपछि अत्यधिक गर्मी हुने गर्छ तर यस वर्ष फागुनदेखि नै गर्मी बढेको छ। हरिपुर नगरपालिका–४, फरहदवाका ६० वर्षीय रामनारायण यादवले फागुनमै खलखल पसिना बग्ने गरी गर्मी हुँदा आश्चर्य लागेको बताउनुभयो।

“फागुन महिना नै छ तर बाहिर हेर्दा वैशाख, जेठको जस्तो घाम देखिन्छ”, यादवले भन्नुभयो। उहाँले पछिल्ला वर्षमा पानी कम पर्न थालेको र तापक्रम बढ्दै गएको महसुस भएको बताउनुभयो।

ईश्वरपुर नगरपालिका–८, रामपुरका वडाध्यक्ष श्यामबहादुर थापाले पानी नपरेर फागुनदेखि नै निरन्तर गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको बताउनुभयो। पानी नपर्दा तराई क्षेत्रमा धुलो, धुवाँको प्रदूषण बढ्दो छ।

त्यस्तै वन क्षेत्रमा निरन्तर डढेलो लागिरहेको छ। सुक्खा बढ्दै जाँदा सर्लाही, महोत्तरी, धनुषा, रौतहटलगायत तराईका जिल्लाको चुरे भेगमा फागुन नसकिँदै खानेपानीको हाहाकार हुन थालिसकेको स्थानीयले बताएका छन्। गोरखापत्रबाट