जनता टाइम्स

३० फाल्गुन २०७९, मंगलवार १२:५३

सँगै सिकार खेल्न गएका साथीले बोकेको भरुवा बन्दुक एक्कासि पड्किँदा मृत्यु


सल्यान, ३० फागुन । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ । भरुवा बन्दुकको गोली लागि जिल्लाको बनगाड कुपिण्डे ९ स्वाराका अन्दाजी ४० वर्षीय चित्रबहादुर रावतको मृत्य भएको सल्यान प्रहरीले जनाएको छ । जंगलमा सिकार खेल्न गएको अवस्थामा सोही ठाउँका आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किएर चित्रबहादुरको पेट र घाँटीमा गोली लागेको हो ।

गम्भीर घाइते अवस्थामा उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल सल्यान पठाइएको छ। घटनामा संलग्न आइते रावत फरार छन् । उनको खोजी भइरहेको निरीक्षक खनालले बताउनुभयो ।