जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १५:१५

काठमाडौँ प्रहरीले दर्ता गरेन रवि लामिछानेकी पत्नी निकिताको उजुरी, यस्तो छ कारण


काठमाडौं, भदौं ४ । सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौँले लिन अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लसहित दुई पत्रकारबिरुद्ध साइवर क्राइममा उजुरी दर्ता गर्न पुगेकी निकितालाई प्रहरीले नमिल्ने भन्दै दर्ता नगरेको हो ।

निकिता प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलगायत तीन जनाविरुद्ध उजुरी दर्ता गराउन महानगरीय प्रहरी परिसर काठमाडौं पुग्नुभएको थियो । प्रहरील निकिताको उजुरी क्षेत्राधिकार बाहिर भएको भन्दै फर्काएको छ ।

प्रहरीले जाहेरी लिन नमानेपछि पौडेलले हुलाकमार्फत जाहेरी पठाउने बताउनु भएको छ । निकिता पौडेलले जनआस्था साप्ताहीकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दर्ता गराउन प्रहरी परिसर पुगेकी थिइन् । उनीहरुले सरकारी विद्युतीय अभिलेख किर्ते गरेको पौडेलको आरोप छ ।

काठमाडौं प्रहरीले चितवनको जिल्लाको उजुरी काठमाडौंमा लिन नमिल्ने जवाफ दिइएको र दर्ता नगरेको जनताटाइम्सलाई बतायो । ‘क्षेत्राधिकार बाहिर गएर उजुरी आएकोले लिन मिलेन, हामीले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन भनेर पठायौं,’ काठमाडौंका एसपी अशोक सिंकले जनताटाइम्ससँग भन्नुभयो ।