जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १७:२१

उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने राप्रपाको निर्णय, मलको अनुदान कटौती निर्णय फिर्ता लिन माग


काठमाडौं, १ चैत । राप्रपाले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ । साथै बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित रहेकाले तत्काल सो निर्णय फिर्ता लिन एक साताको अल्टिमेटम दिएको छ ।

विज्ञप्तिको पूर्णपाठ

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ ।

  1. आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा राप्रपाले मत नदिने, तटस्थ बस्ने निर्णय गरेको छ ।
  2.  किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय/अनुचित छ ।
    यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ । रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरिएको छ ।
  3. हाल बैंकहरुबाट ब्याज बढ्न थालेकाले साना उद्योगी, व्यवसायी, किसान लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा ठूलो र नकारात्मक असर परिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसंग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ। साथै बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीहरुको माग तत्काल सम्बोधनका लागि सरकारसंग राप्रपा बैठकले माग गरेको छ ।

मोहन श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख ।