जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १३:२८

नेपाललाई दियो यूएईले विशाल लक्ष्य


काठमाडौं, चैत २ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय खेलमा नेपालले सबैभन्दा ठूलो लक्ष्य पाएको छ । आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको हो ।

खान नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाएका छन । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको छ ।

यसअघि लिग–२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।

त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाएका छन । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका हुन् । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । कुल ८ ओभरमा स्पेलमा २ मेडन राख्दै ऐरीले १९ रन खर्चिए ।

यस्तै सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए भने सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ८० रन खर्चिए । यस्तै ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर २७ रन दिए ।

आजको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।