जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १०:१२

उपराष्ट्रपति निर्वाचित गर्न मतदान सुरू


काठमाडौं, चैत ३ । उपराष्ट्रपति निवाृचनको मतदान सुरू भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान सुरू भएको हो। उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमत पार्टीका ममता झा चुनावी मैदानमा हुनुहुन्छ ।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन रहेको छ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

मतदान सम्पन्न लगत्तै मतगणना सुरू गर्ने र साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ। उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाइ मतसङ्केत गर्नुपर्नेछ ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन,२०७४ ले गरेको छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।