जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १९:४१

निर्देशिका अनुरुप निर्वाचन सम्पन्न गर्न सम्पूर्ण विश्वविद्यालय प्रशासनलाई अनेरास्ववियुको अपिल, लोकतन्त्र विरोधी हर्कतको घोर भर्सना


काठमाडौं, ३ चैत । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले विश्वविद्यालयहरुको निर्वाचन निर्देशिका अनुरुप निर्वाचन सम्पन्न गर्न सबैलाई अपिल गरेको छ । आज अनेरास्ववियु अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै आसन्न चैत्र ५ र ८ गते हुन गईरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीमा जुटिरहेको र सफल रुपमा सम्पन्न गर्न आग्रह गरेको हो ।

‘त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पस, १००० वटा भन्दा बढी सामुदायिक तथा नीजि क्याम्पसका साथै नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदुरपश्चिम विश्वविद्यालयका सम्पूर्ण क्याम्पसहरुमा विश्वविद्यालयहरुको निर्वाचन निर्देशिका अनुरुप निर्वाचन सम्पन्न गर्न सम्पूर्ण विश्वविद्यालय प्रशासनलाई अपिल गर्न चाहान्छ’ विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा लेखिएको छ,‘निर्दलीय पञ्चायती व्यवस्थामासमेत निर्वाध रुपमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गर्दथ्यो । तर यस पटक निर्वाचनमा सत्ताधारी विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पस र विश्वविद्यालयहरुमा आगजनी, तोडफोड र तालाबन्दी गरिरहेका छन् । अनेरास्ववियुले सजहताका साथ विजय हासिल गर्ने क्याम्पसहरुमा क्याम्पस प्रमुख र निर्वाचन समितिका प्रमुखहरुलाई सुरक्षा चुनौति हुने गरी सत्ताधारी दलका छायाँ संगठनका नेता कार्यकर्ताहरु समेत गतिविधि गरिरहेका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री र सत्ता गठबन्धनका शिर्ष नेताहरु समेत विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरुलाई धम्की दिने काममा अग्रसर हुनु हाम्रा लागि असह्य विषय हो । निर्वाचन गराउन सुरक्षा प्रदान गराउनुपर्ने निकायबाट यथेष्ट सहयोग नहुँदा १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन हुन नदिन वर्तमान सरकार उद्दलित रहेको पुष्टि हुन्छ ।’

देशका सबैभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, आर.आर. क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, बाल्मीकी क्याम्पस, विरेन्द्र ब. क्याम्पस, अमृत साईन्स क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पोखरा वन क्याम्पस, सिद्धनाथ साईन्स क्याम्पस, चितवन ई. कलेज लगायत आंगिक क्याम्पसहरु र अत्याधिक विद्यार्थीहरु अध्ययन गर्ने सामुदायिक क्याम्पसहरुमा सत्ताधारी संघ/संगठनहरु अनेकौं बहनाबाजी गर्दै निर्वाचन टार्ने अभियानमा दौडिरहेका छन् ।

अनेरास्ववियुले सरकारको यो लोकतन्त्र विरोधी हर्कतको घोर भर्सना गर्दै यथाशीघ्र सम्पूर्ण विश्वविद्यालय र क्याम्पसहरुमा निर्वाचनको प्रक्रिया अघि बढाउन जोडदार माग गरेको छ । अन्यथा आफूहरु सम्पूर्ण न्यायप्रेमी विद्यार्थी साथीहरुको सहयोगमा सरकार र विश्वविद्यालयको गैर जिम्मेवारिपनविरुद्ध सडक संघर्षमा जान बाध्य हुने जनाएको छ ।