जनता टाइम्स

७ चैत्र २०७९, मंगलवार २२:३४

प्रेमबिनाको जीवन अपूर्ण मात्र हुँदैन, प्रेमबिनाको जीवनको कल्पना नै गर्न सकिँदैन


प्रेम करुणा होइन भावना हो, यो हरेक मानिसको जीवनको हिस्सा हो । जीवन भनेको शरीर होइन, मानिसको भोगाइ हो । एउटा व्यक्तिको जन्मदेखि मृत्युसम्मका भोगाइ र अनुभूतिको समग्रता नै त्यो व्यक्तिको जीवन हो, जसमा प्रेम पनि पर्छ । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो । प्रेमबिनाको जीवन अपूर्ण मात्र हुँदैन, प्रेमबिनाको जीवनको कल्पना नै गर्न सकिँदैन ।

प्रेम र जीवन एक–अर्काका परिपूरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम शाश्वत सत्य हो । संसारका हरेक व्यक्तिमा प्रेम विषयक गुण हुने भएकाले नै प्रेमलाई शाश्वत सत्य भनिएको हो, । यही कारणले प्रेम र जीवनमाथि धेरैको बुझाइ सामाजिक धरातलमा मात्र छ । मनोवैज्ञानिक धरातलप्रति मानिसहरू उदासीन छ । जब कि प्रेम सामाजिक विषय होइन यो त विशुद्ध मनोवैज्ञानिक विषय हो ।

प्रेम र यौन

कतिपय मानिस प्रेम र यौनलाई छुट्टा–छुट्टै रूपमा हेर्छन् । प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरू यौनलाई प्रेमको विपरीत मान्छन् । यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरू त यौनलाई विकृति नै पनि भन्छन् । आफू यौन समागमबाटै जन्मिएर पनि यौनलाई छिस्छिस् र दूरदूर गर्ने विद्वत् वर्ग पनि ठूलै छ । यद्यपि यौन र प्रेम फरक विषय होइनन् । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रूप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौन समागम नै प्रेम हो । त्यसैले प्रेम र यौनलाई छुट्टै राख्न सकिँदैन ।

प्रेमबिनाको यौन र यौनबिनाको प्रेम दुवै अपूर्ण हुन् । आफूलाई आदर्श प्रेमका पक्षधर मान्नेहरू प्रेममा यौनको छिटा नै पर्न नहुने भन्ने धारणा राख्छन्, तर तिनीहरू के बुझ्दैनन् कि प्रेममा यौनको अंश नहुँदो हो त विपरीत लिङ्गसँग प्रेम हुने नै थिएन । सायद यस्ता दृष्टिभ्रम भएकाहरू प्रेमलाई करुणाको तहमा मात्र बुझ्न सक्छन् । विपरीत लिङ्गबाहेक अरूसँग हुने प्रेम भावनाको भन्दा पनि करुणाको तहमा हुन्छ । भावनात्मक निकटताको प्रेम विपरीतलिङ्गी प्रेम हो र त्यसमा कुनै न कुनै रूपमा यौनको घुलन हुन्छ । चाहे त्यो शारीरिक तहमा होस् वा मनोवैज्ञानिक तहमा नै किन नहोस् ।

यौनलाई शारीरिक आनन्दको क्रियाकलाप मान्ने र बुझ्नेहरू पनि छन् । पछिल्लो समय विश्वका कतिपय देशमा यौन पर्यटनका कुरा आइरहेका छन् । विश्व यौनबजारमा यौन पारखीहरूको मेला चलेको छ, तर यी बजारमा बिक्री हुने यौन सतही आनन्दका कुरा हुन् । जहाँबिना प्रेम यौन समागम हुन्छ त्यसबाट चरम आनन्द प्राप्त हुन सक्दैन । यौनमा ऊर्जा चाहिन्छ । बजारको यौनमा ऊर्जा हुँदैन किनभने त्यहाँ मन हुँदैन, शरीर मात्र हुन्छ, मन नभएपछि प्रेम हुँदैन, बिनामनको शरीरले यौनमा ऊर्जा दिन सक्दैन । बिनाप्रेमको यौनले ऊर्जा समाप्त गरिदिन्छ । प्रेमसहितको यौनमा मात्र ऊर्जा थपिन्छ । त्यसैले जुन यौन समागममा प्रेम छैन त्यसमा चरम सुख छैन । शरीरले यौनको वास्तविक आनन्द लिन सक्दैन । शरीरले लिएको आनन्द सतही आनन्द मात्र हो । यौनमा आनन्दका लागि मानिस शारीरिक रूपमा भन्दा मनोवैज्ञानिक रूपमा सबल हुनु आवश्यक छ ।

प्रेम र विवाह

प्रेम र विवाह विल्कुलै भिन्न कुरा हुन् । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलन भन्दा पनि सम्झौता भन्छन् । पछिल्लो समय अधिकांश प्रेमसम्बन्ध विवाहमा परिणत भैरहेका छन् । विवाहमा परिणत भएका यी प्रेमकहानीहरू सामाजिक दृष्टिमा सुन्दर पनि लाग्छन् । यद्यपि प्रेमजस्तो स्वतस्स्फूर्त विषयलाई विवाहजस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्छ र कति मर्छ भन्ने विषयमा चाहिँ कसैले विचार गरेको पाइँदैन ।

विवाहपूर्वको प्रेममा समान हैसियतमा रहेका दुई व्यक्ति विवाहपश्चात् फरक–फरक भूमिकामा पुग्छन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वाभाविक हो । विवाहअघि मनोवैज्ञानिक धरातलमा एक–अर्कालाई स्वच्छन्द प्रेम गरिरहेका प्रेमी–प्रेमिका जब पति–पत्नीमा परिणत हुन्छन् तब व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन पति–पत्नीकै हुन्छ । हाम्रै समाज सापेक्षतामा हेर्ने हो भने विवाहपश्चात् पति मालिक बन्छ पत्नी वस्तु बन्छे अनि मालिकको इच्छा पूरा गरिदिनु वस्तुको कर्तव्य हुन्छ ।