जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार १०:०७

भारतीय विदेशमन्त्री जयशंकर र राजपाका नेताविच मध्यरातसम्म भेटवार्ता


काठमाडौं, भदौ ५

भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रिय जनता पार्टी (राजपा) शीर्ष नेतृत्वसँग गएराति दुई घण्टा लामो भेटवार्ता गर्नुभएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा राजपाका नेताहरु करिव ९ बजेतिर भित्र छिर्नुभएको थियो । होटल स्रोतले दिएको जानकारी अनुसार राजपाका अध्यक्षमण्डलका सबै सदस्य राति करिब ११ बजेतिर बाहिरिनु भएको थियो ।

भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको नेताहरूले जानकारी दिनुभएको छ । भेटमा राजपा अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरद्सिंह भण्डारी, महेन्द्र यादव, राजकिशोर यादव र अनिल झा सहभागी हुनुहुन्थ्यो । भरतीय पक्षबाट विदेशमन्त्री जयशंकर र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी सहभागी हुनुहुन्थ्यो ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले दुई देशको सम्बन्धबारे छलफल भएको बताउनु भयो । ‘नेपाल भारत सम्बन्धबारे चर्चा भयो। उहाँले भारतको पछिल्लो अवस्थाबारे कुरा राख्नुभयो’, यादवले भन्नुभयो, ‘हामीले प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालका लागि बधाई दियौँ।’ त्यत्ति लामो भेटमा नेपालको आन्तरिक राजनीतिक विषयमा छलफल भए नभएकोबारे भने नेताहरूले बताउन चाहानु भएन् । यसैविच, जयशंकरले आजै दिउँसो १२ बजे नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएको छ।