जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १७:२६

कर्मचारी संगठनको महाधिवेशन तयारी पूरा, अध्यक्षमा भट्टको दाबेदारी


काठमाडौं, १० चैत । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशन तयारी पूरा भएको छ । महाधिवेशन १७ र १८ चैतमा काठमाडौंमा हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व लिन वरिष्ठतम् उपाध्यक्ष अम्बादत्त भट्ट अग्रसर हुनुभएको छ ।

संगठनको करिब ७ वर्षपछि हुन लागेको महाधिवेशनमा दुई कार्यकाल उपाध्यक्ष भइसकेका भट्ट अध्यक्षको एकल दाबेदारका रूपमा देखिएका छन् । यद्यपि, महाधिवेशनमा प्रतिस्पर्धा हुने कि सर्वसम्मत नेतृत्व चयन हुने टुंगो लागिसकेको छैन ।

बैतडी घर भई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्टले नेतृत्वमा आफ्नो स्वभाविक दाबी रहेको बताउनुभयो । भट्ट २०६९ देखि संगठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन् । ‘व्यक्तिगत दुई कार्यकालदेखि उपाध्यक्ष छु, यसपालि नेतृत्व लिने सोच बनाएको छु’ उहाँले भन्नुभयो, ‘नेतृत्वमा अरू साथीको खासै तयारी देखेको छैन । बहुसंख्यक साथीको समर्थन प्राप्त गर्छुजस्तो लाग्छ ।’

विधान मस्यौदा समितिका संयोजकसमेत रहेका भट्टले संगठनको संरचनागत संख्या तय गर्न संघीय निजामति ऐन नबन्दा कठिनाइ भएको बताउनुभयो । संगठनका सचिव लोकेन्द्र चौलागाईंले प्राविधिक रूपले हल व्यवस्थापनदेखि लिएर प्रचारका लागि ब्यानर पोस्टर छपाइलगायत तयारी भएको बताउनुभयो ।

जिल्ला अधिवेशनहरू पूर्णरूपले सम्पन्न भइसकेको र प्रदेश अधिवेशन भइरहेको उहाँले बताउनुभयो । १६ गतेसम्म संगठनका सबै इकाईमा अधिवेशन सम्पन्न भएर महाधिवेशनबाट नेतृत्व चयन गरिने उनले बताए । सबैतिरबाट प्रतिनिधि छानिसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।