जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १७:४३

लागुऔषधसहित ५ जना पक्राउ


काठमाडौं, १० चैत । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटेबाट अवैध लागुऔषध गाँजा करिब १ सय ४४ केजीसहित कैलाश गाउँपालिका(९ नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जनलाई राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख ३०२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी ट्रक चालक भोम्जनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-६ ऐठपुर शिवटोल डेरा गरी बस्ने डडेलधुरा आलिताल गाउँपालिका–५ घर भएकी २२ वर्षीया सिमा थापा मगर र २२ वर्षीय राजु बोहरालाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ छतौनि बस्ने ४१ वर्षीय भोला यादवलाई अवैध लागुऔषध गाँजा करिब ६ केजीसहित प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगर र बिओपी पोष्ट बर्साईन टिकुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापाको मेचिनगर नगरपालिका–६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही नगरपालिका–७ राधा कृष्ण टोल बस्ने ५० वर्षीया जमुना राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।