जनता टाइम्स

११ चैत्र २०७९, शनिबार १०:५८

काम गर्न नसक्ने व्यक्ति संगठनमा नबस्नुस् : गगन विष्ट


काठमाडौं, चैत ११  नेकपा एमालेका केन्द्रीय प्रचार विभाग सचिव गगन  विष्टले विचार नबोक्ने संगठन सही दिशामा अघि बढ्न नसक्ने बताउनुभएको छ ।

शनिबार भक्तपुरमा आयोजित प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै विष्टले विचार र सिद्धान्त बोकेर मात्र गन्तव्यमा पुग्न सकिने बताउनुभयो । प्रेस चौतारीका सदस्यलाई जनतासम्म पार्टीका कुरा र विचार जस्ताको तस्तै पुर्‍याइदिन उहाँले आग्रह गर्नुभयो ।

‘काम गर्न नसक्ने व्यक्ति संगठनमा नबस्नुस्, काम गर्नेलाई ठाउँ छाडिदिनुस्, त्यसो भयो भने संगठन गतिशील हुन्छ’, उहाँले भन्नुभयो ।

नेकपा एमाले अहिले चौतर्फी घेराबन्दीमा रहेकोले पार्टीका विचार जनताका बिचमा कसरी पुर्‍याउने भन्ने कुरामा एमाले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक र शुभचिन्तकले ध्यान दिनुपर्ने विष्टले बताउनुभयो । जो जहाँ छ, त्यहीँ बसेर जिम्मेवारी पूरा गर्ने हो भने यो काम सम्भव हुने उहाँले प्रष्ट पार्नुभयो ।