जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १४:०४

अनुशासित र स्वच्छ प्रहरी आवश्यक छ : गृहसचिव सिंह


काठमाडौं, १२ चैत । गृहसचिव विनोदप्रकाश सिंहले देशमा अनुशासित र स्वच्छ प्रहरी आवश्यक रहेको बताउनुभएको छ । आज गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । सचिव सिंहले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्र समस्याको समाधान गर्ने उल्लेख गर्नुभयो ।

समाजमा प्राविधिक गतिविधिमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको उहाँले बताउनुभयो । अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ । व्यावसायिक प्रहरी हामीलाई चाहिएको छ । धेरै बाधाहरू छन्, हामीलाई थाहा छ, व्यवासायिक प्रहरी भन्नेबित्तिकै तालिमको कुरा छ, अन्य कुराहरू छन्, नयाँ प्रविधिको कुरा छ । उहाँले भन्नुभयो, तर, यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीहरूको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ ।’

उहाँले भन्नुभयो,‘अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई शून्य सहनशीलता बनाउँनुहुनेछ । मन्त्रालय देखिने गरी सुधार भएको हेर्न चाहन्छ । विगतमा सुधारका क्रमहरू चलेका छन् । तर, त्यो सुधार अझै पनि पूर्ण भएको जस्तो लाग्दैन । आन्तरिक सुदृढीकरण प्रमुख आधार रहेको छ ।

हामी समाजका बेथितिहरू, अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नलाई हामी आफैँ कति सक्षम र सुदृढ छौँ भन्ने कुराले महत्त्व राख्छ ।’ सचिव सिंहले प्रहरी प्रशासनमा अझै पनि पूर्ण रूपमा सुधार नदेखिएको बताउनुभयो । उहाँले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।