जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १५:१२

सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन ज्ञानेन्द्र शाहीको प्रस्ताव


काठमाडौं, १२ चैत । राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले राष्ट्रलाई चिनाउने खेलाडी पहलाय हुने स्थिति बढेको भन्दै उनीहरुको पारिश्रमिक बढाउन प्रस्ताव गर्नुभएको हो ।

मन्त्रीका स्वकीय सचिवको भन्दा पनि कम खेलाडीको पारिश्रमिक रहेको भन्दै उहाँले तत्काल खेलाडीको पारिश्रमिक बढाउन माग गर्नुभएको हो । यसका लागि मन्त्री र सांसदका स्वकीय सचिवको पारिश्रमिक कटौती गर्न उहाँले प्रस्ताव गर्नुभयो ।

‘राष्ट्रलाई चिनाउने खेलाडी हुन् । तर, उनीहरु पहलायन भएका छन् । राष्ट्रिय फुटबल टोलीका कप्तान भइसकेका सुजल श्रेष्ठ अष्ट्रेलिया पहलायन भए । भक्तपुरका बागेश्वरी विद्यालयका १२ कक्षामा पढ्ने विद्यार्थी छुट्टिने बेलामा खाडीमुलकमा भेटौँला लेखे,’ उहाँले भन्नुभयो, ‘राष्ट्रलाई चिनाउने खेलाडीको पारिश्रमिक मन्त्रीका स्वकीय सचिवको भन्दा कम छ । बरु हामी सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर भए पनि खेलाडीको तलब बढाउनुपर्छ ।’